मुहूर्त्त निर्धारण भनेको के हो?
मुहूर्त्त निर्धारण (Muhurta Nirnayan) भनेको वैदिक ज्योतिषशास्त्र (Vedic Astrology) मा आधारित एक प्रक्रिया हो जसमा कुनै पनि शुभ कार्य, घटना वा निर्णयको लागि उपयुक्त समय (Auspicious Time) छनोट गरिन्छ। संस्कृत भाषामा "मुहूर्त्त" शब्दको अर्थ "क्षण" वा "समयको एक भाग" हुन्छ। प्राचीन वैदिक परम्परामा समयलाई ४८ मिनेटको एक मुहूर्त्त मानिन्छ, तर व्यावहारिक रूपमा मुहूर्त्त निर्धारण भनेको पञ्चाङ्ग (Panchang) को आधारमा ग्रहहरूको स्थिति, नक्षत्र, तिथि, योग, करण आदिको विश्लेषण गरेर कुनै कार्य सुरु गर्नको लागि सबैभन्दा अनुकूल समय निर्धारण गर्ने विधि हो।

यो प्रक्रिया हिन्दू धर्म, जैन धर्म र अन्य परम्पराहरूमा गहिरो रूपमा रहेकाे छ। विवाह, गृहप्रवेश, व्यापार सुरु, यात्रा, पूजा-अनुष्ठान आदिका लागि मुहूर्त्त हेरेर कार्य गरिन्छ। मुहूर्त्त निर्धारण गर्दा ज्योतिषीहरूले पञ्चाङ्गको पाँच तत्वहरू (तिथि, बार, नक्षत्र, योग र करण) लाई मुख्य रूपमा विचार गर्छन्। यसबाहेक, लग्न (ascendant), चन्द्रमा, सूर्य आदिको स्थिति पनि हेर्ने गरिन्छ। यदि मुहूर्त्त शुभ छ भने कार्य सफल हुने विश्वास गरिन्छ, जबकि अशुभ मुहूर्त्तमा कार्य गर्दा बाधा वा असफलता आउँछ।

मुहूर्त्त निर्धारणको आधारभूत अवधारणा यो हो कि ब्रह्माण्डमा ग्रहहरूको ऊर्जा निरन्तर परिवर्तनशील हुन्छ, र ती ऊर्जाहरूसँग मानव जीवन जोडिएको हुन्छ। यसैले, सही समय छनोट गरेर जीवनका महत्त्वपूर्ण घटनाहरूलाई सकारात्मक दिशामा मोड्न सकिन्छ।

मुहूर्त्त निर्धारण किन हेर्ने?
मुहूर्त्त निर्धारण हेर्नुको मुख्य कारण जीवनका महत्त्वपूर्ण कार्यहरूमा सफलता, समृद्धि र सुख-शान्ति सुनिश्चित गर्नु हो। समयको हरेक क्षण ग्रहहरूको प्रभावबाट प्रभावित हुन्छ। यदि कुनै कार्य अशुभ समयमा सुरु गरियो भने, त्यसले नकारात्मक परिणाम दिन सक्छ, जस्तै स्वास्थ्य समस्या, आर्थिक हानि, सम्बन्धमा तनाव वा अन्य बाधाहरू। यसको विपरीत, शुभ मुहूर्त्तमा कार्य गर्दा ग्रहहरूको सकारात्मक ऊर्जा प्राप्त हुन्छ, जसले कार्यलाई सहज र फलदायी बनाउँछ।

उदाहरणहरू

  1. विवाहको लागिः मुहूर्त्त हेरेर विवाह गर्दा दम्पतीको जीवनमा सुख, सन्तान र समृद्धि आउने विश्वास गरिन्छ। यदि मुहूर्त्त नहेरी विवाह गरियो भने, वैवाहिक जीवनमा कलह वा समस्या आउँछ।
  2. व्यापार वा नयाँ उद्यमः नयाँ व्यवसाय सुरु गर्दा मुहूर्त्त हेरेर लाभ, ग्राहक वृद्धि र स्थिरता सुनिश्चित गर्न सकिन्छ। अशुभ समयमा सुरु गर्दा घाटा वा असफलता हुन्छ।
  3. पूजा-अनुष्ठानः देवी-देवताको पूजा वा यज्ञ गर्दा मुहूर्त्त हेरेर गर्दा पूजाको फल प्राप्त भई आध्यात्मिक उन्नति र मनोकामना पूर्ति हुन्छ।
  4. यात्रा वा गृहप्रवेशः मुहूर्त्त हेरेर यात्रा गर्दा सुरक्षित र सफल यात्रा, गृहप्रवेश मुहूर्त्तमा गर्दा घरमा सुख-समृद्धि आउँछ।

मुहूर्त्त निर्धारण किन?
मुहूर्त्त निर्धारण मात्र पर्याप्त हुँदैन; यसलाई व्यक्तिगत जन्मकुण्डलीसँग जोडेर हेर्नुपर्छ। यदि मुहूर्त्त शुभ छ तर व्यक्तिको कुण्डलीसँग मेल खाँदैन भने, कार्यमा बाधा आउन सक्छ। संक्षेपमा, मुहूर्त्त हेर्नु भनेको जीवनलाई ब्रह्माण्डीय ऊर्जासँग तालमेल मिलाउनु हो। प्राचीन ग्रन्थहरू जस्तै "मुहूर्त्त चिन्तामणि" वा "मुहूर्त्त मार्तण्ड" मा यसको विस्तृत वर्णन छ, जसले विभिन्न कार्यहरूका लागि विशिष्ट मुहूर्त्तहरू उल्लेख गर्छन्। आधुनिक समयमा पनि यो परम्परा कायम छ, विशेष गरी नेपाल, भारत र अन्य हिन्दू बहुल क्षेत्रहरूमा।

बालक जन्मदा
स्वस्ति शान्ति गर्न अति आवश्यक

  1. बालक जन्मदाः ज्येष्ठा, मूल, अश्लेषा, मघा, अमावास्या, कृष्ण चतुर्दशीमा, आमाबाबु र सहोदर दाजुदिदीका नक्षत्रमा, ग्रहणकालमा,
  2. तिथि गण्डान्त (५।१०।१५।३० तिथिको पछिल्लो १ घडी र १।६।११ तिथिको आदिको १ घडी),
  3. नक्षत्र गण्डान्त (अश्लेषा, ज्येष्ठा, रेवतीको पछिल्लो २ घडी र अश्विनी, मघा, मूलको आदिको २ घडी),
  4. लग्न गण्डान्त (४।८।१२ लग्नको पछिल्लो आधा घडी र १।५।९ लग्नको आदिको आधा घडी),
  5. व्यतिपात- वैधृति योग, संक्रान्ति, चित्रा नक्षत्रको तेस्रो पाउ, उत्तराफाल्गुनीको पहिलो पाउ, तिष्यको २।३ पाउमा,
  6. तिथिक्षय, भद्रा, यमघण्टयोग, दग्धयोग, कुलिक, कालबेला, विष्कुम्भ-वज्रयोगको ३ घडी, गण्डको ६ घडी, परिघयोगको पूर्बार्द्ध, शूलको ५ घडी, व्याघातको ९ घडी आदिमा बालक जन्मेमा अनिष्ट हुन्छ।
  7. यसमा सामान्यरूपले शान्तिका लागि रूद्री-चण्डी पाठ लगायत शान्तिका अन्य योग्य प्रयत्नहरू गर्नुपर्दछ।
  8. मूल नक्षत्रको पहिलो पाउले बाबुलाई, दोस्रोले आमालाई, तेस्रोले धन सम्पत्तिलाई
  9. अश्लेषाको चतुर्थ- प्रथमले मित्रलाई अनिष्ट गर्छ
  10. ज्येष्ठाको पछिल्लो दुई घडी मूलको आदिको दुई घडी अभुक्त (कडा) मूल हुनेहुँदा उपरोक्त अवधिमा जन्मेका बच्चालाई ८ वर्षसम्म बाबुले मुख हेर्नुहुँदैन
  11. यस्तो अवस्थामा मूलशान्तिका उपायहरू महामृत्युंजयको जप आदि विशेष कार्य लगायत बच्चा जन्मनासाथ गोप्रसव (गाईबाट जन्मेको बनाउने) कार्य गर्नुपर्दछ। अमावास्यामा जन्मेको बालकले बाबुआमालाई अनिष्ट गर्छ भने बालिकाले पतिलाई अनिष्ट गर्ने हुँदा दुबैमा शान्ति गर्नुपर्दछ। तीन गर्भसम्म पुत्र भएर चतुर्थ गर्भमा पुत्रीको जन्म वा ३ गर्भसम्म पुत्री भएर ४ गर्भमा पुत्र भएमा त्रितर योग हुन्छ, यसयोगले माता-पिता र कुललाई अनिष्ट गर्छ भन्ने गरिन्छ अतः त्रितरयोगको शान्ति गर्नु योग्य हुनेछ।

अमावास्या जन्म शान्ति विधि
विधिवत् कलश स्थापना गरी अमादेवता सूर्यको तामा र चन्द्रमाको चाँदीको प्रतिमा बनाई थाली माथि राखी प्रतिष्ठापूर्वक पूजा गरी सवित्रे प्रसवित्रे आदि तथा सोमोधेनु सोमाअवन्त आदि मन्त्रले ११०० हवन गर्नुपर्दछ।

कृष्ण चतुर्दशी जन्म शान्ति विधि
नन्दीमा विराजमान त्रिनेत्री शिवको स्वर्णप्रतिमा बनाई विधिवत् षोडषोपचार पूजा गर्ने, महामृत्युञ्जयको जप, नवग्रहको १०८ हवन, पुरुषसूक्त पाठ आदि गर्नुपर्दछ।

भद्रा, विष्कुम्भ-व्यतिपात-वैधृति-परिघ-यमघण्ट-दग्ध योगमा जन्म शान्ति विधि
सविधि पञ्चाङ्ग देवता पूजन, वर-पीपल पूजा प्रदक्षिणा, विष्णुमन्त्रले यथायोग्य हवन, सप्तशती पाठ गर्नुपर्छ।

एउटै नक्षत्रमा जन्म भए शान्ति विधि
विधिवत् सङ्कल्प गरी जन्म नक्षत्रको स्वर्णप्रतिमा बनाई चन्द्रमा समेतको पूजा, साथै महामृत्युञ्जय मन्त्रले यथाशक्ति हवन गरी शान्ति कलशको जलले आमाबाबु तथा सहोदर दाजु- दिदीलाई सेचन गर्नुपर्दछ।

ग्रहणमा जन्म भए शान्ति विधि
ग्रहणस्पर्श नक्षत्रको तथा सूर्य ग्रहणमा सुनको सूर्यको, चन्द्रग्रहणमा चाँदीको चन्द्रमाको प्रतिमा साथै सीसाको राहको प्रतिमा बनाई सूर्यलाई रातो, चन्द्रमा तथा नक्षत्रलाई सेतो र राहुलाई कालो अक्षता, फूल, वस्त्रादिले पूजा गरी महामृत्युञ्जय मन्त्रले यथाशक्ति हवन गरी शान्ति कलशको जलले आमाबाबु तथा जातकलाई सेचन गर्नुपर्दछ।

गण्डान्तमा जन्म भए शान्ति विधि
सुतकान्तमा वा कुनै शुभकालमा बाबुले शान्ति गर्नू, त्यतिञ्जेल जातकको मुख नहेर्नू। तिथि गण्डान्तमा गाईको बाच्छो नक्षत्र गण्डान्तमा बाच्छी र लग्न गण्डान्तमा सुन दान गरी महामृत्युञ्जय मन्त्रले यथाशक्ति हवन गरी शान्ति कलशको जलले आमाबाबु तथा जातकलाई सेचन गर्नुपर्दछ।

अभुक्त मूल (ज्येष्ठान्त, मूलादि) जन्म शान्ति विधि
जन्मको २७ औं दिन (जन्मनक्षत्र परेको दिन) वा आठौं वर्षको अन्त दिनमा यसको शान्ति गर्ने विधान छ, त्यसपूर्व बाबुले जातकको मुख हेर्नुहुँदैन। शान्तिका लागि आफ्नो घरको पूर्वतर्फ यज्ञविधिपूर्वक मण्डप बनाएर नक्षत्रको स्वामीको स्वर्णप्रतिमा कलशमाथि स्थापना गरी इन्द्र, वरुण समेतको षोडशोपचार पूजा गर्ने, अर्को एकशतछिद्र (१०० प्वाल भएको) कलश बनाई दुबै कलशको जलले आमाबाबु तथा जातकलाई स्नान गराउने तथा महामृत्युञ्जय मन्त्रको यथाशक्ति जप र हवन गर्नुपर्दछ। 

मूल नक्षत्रको जन्म फल
आद्ये पिता नाशमुपैति मूलपादे द्वितीये जननी तृतीये। धनं चतुर्थस्य शुभोऽथ शान्त्यासर्वत्र सत्स्यादहिभेविलोमम्॥

मूलनक्षत्रको पहिलो पाउमा बालक जन्म्यो भने बाबु पिर्ने हुन्छ, दोस्रो पाउमा जन्म्यो भने आमा पिर्ने हुन्छ, तेस्रो पाउमा जन्म्यो भने धन नाश गर्ने हुन्छ, चौंथा पाउमा जन्म्यो भने शुभ हुन्छ। अष्लेषा नक्षत्रको चौथो पाउमा जन्म भएको भए बाबु पिर्दछ, तेस्रो पाउमा ग्रामा पिर्दछ, दोस्रो पाउमा जन्म भए धन नाश गर्ने हुन्छ, पहिलो पाउमा जन्म भएको भए शुभ हुन्छ। यसमा शान्ति गर्नाले सबै शुभ हुन्छ दोष लाग्दैन।

अभुक्तमूलं घटिका चतुष्टयंज्येष्ठान्त्यमूलाहिभवं हि नारदः। वशिष्ठ एक द्वि घटीमितं जगौ वृहस्पतिस्त्वेक घटि प्रमाणकम्॥
नारदको मतमा ज्येष्ठाको अन्त्यको ४ घडी मूलको आदिको ४ घडी जम्मा ८ घडी अभुक्त मूल हुन्छ, वशिष्ठजी ज्येष्ठाको अन्त्यको एक घडी मूलको प्रादिको २ घडीलाई अभुक्त मूल हुन्छ, वृहस्पति ज्येष्ठाको एक घडी मूलको पनि एक घडीलाई अभुक्त मूल हुन्छ।

अथोचुरन्ये प्रथमाष्टघटयोमूलस्य संक्रान्तिमयञ्च नाड्यः। जातं शिशुं तत्र परित्यजेद्वामुखं पितास्याष्टसमा न पश्येत्॥
अरू प्राचार्यहरू मूलको ग्रादिको ८ घडी ज्येष्ठाको अन्त्यको ५ घडीलाई अभुक्त मूल भन्दछन्। यस्तो बहुमत हुँदा नारदको मतलाई नै प्रमाणित गरिएको छ। अभुक्त मूलमा जन्म लिएको बालकलाई त्याग गर्नु अथवा ८ वर्षसम्म बाबुले मुख नहेर्नु अश्लेषाको अन्त्यको ४ घडी र मघाको आदिको ४ घडीको फल पनि यस्तै बताउनु पर्दछ।

गण्डान्त तिथि
नंदातिथीनां नामादौ पूर्णानां च तथांतिके। घटिकैकांशभे त्याज्या तिथिगंडोऽय मुच्यते॥

नंदा तिथि १।६।११ को आदिको पूर्णाको अन्तको एक-एक घडी शुभ कार्यमा त्याज्य छन्, इनलाई गण्डान्त तिथि भन्दछन्।

गण्डान्त नक्षत्र
ज्येष्ठाश्लेषारेवती च नामन्ते घटिका द्वयम्। आदौ मूलमघाश्विन्या भगण्डो घटिका द्वयम॥

ज्येष्ठा, अश्लेषा, रेवतीको अन्त्यको २ घडी मूल, मघा, पुष्यको आदिको २ घडिलाई गण्डान्त नक्षत्र भन्दछन्, यी शुभकार्ममा त्याज्य छन्।

बालकको दाँत पहिलो पटक उम्रिदाको मासफल
मासे चेत्प्रथमे भवेत्सदशनो बालो विनश्येत् स्वयं हन्यात् स क्रमतोऽनुजातभगिनीमात्रग्रजान्द्र्यादिके।
षष्ठादौ लभते हि भोगमतुलं तातात्सुखं पुष्टतां लक्ष्मी सौख्यमथो जनौ सदशनोवोर्ध्वं स्वपित्रादिहा॥

  1. पहिलो महिनामा दाँत आउँदा आफ्नै नाश
  2. दोस्रो महिनामा दाँत आएमा भाइको नाश
  3. तेस्रो महिनामा दाँत आएमा दिदी-बहिनीको नाश
  4. चौथो महिनामा दाँत आएमा आमालाई कष्ट
  5. पाँचौ महिनामा दाँत आएमा दाजुको नाश
  6. छठौं महिनामा दाँत आएमा अत्यन्त सुखी
  7. सातौं महिनामा दाँत आएमा बाबुलाई सुख
  8. आठौं महिनामा दाँत आएमा आफ्नै शरीर तन्दुरुस्ती
  9. नवौं महिनामा दाँत आएमा लक्ष्मीप्राप्ति
  10. दशौं महिनामा दाँत आएमा सुखी हुने भन्ने गरिन्छ
  11. एघारौँ महिनामा दाँत आएमा अत्यन्त सुखी 
  12. बाह्रौँ महिनामा दाँत आएमा धनसम्पत्ति र लक्ष्मीप्राप्ति
  13. माथिबाट दाँत आएमा वा दाँतसहित जन्म भएमा बाबुआमा, स्वयं र आफन्तहरूलाई असर पर्ने

Note: शान्तिका लागि सविधि रुद्री-चण्डीको पाठ लगायत महामृत्युञ्जको जप आदि गर्नुपर्दछ।

अन्न प्राशन मुहूर्त्त (पास्नी)
आद्यान्नप्राशनेपूर्वा सर्पाद्रकृत्तिका यमः। उत्तरे रोहिणी मैत्रे द्विदैवेन्द्राश्च राक्षसः॥
नक्षत्राणि परित्यज्य वारे भौमार्कनंदने। द्वादशी सप्तमी रिक्ता पर्वनंदास्तु वर्जिताः॥
लग्नेषु च झषो ग्राह्यो वृषः कन्या च मन्मथः। शुक्लेपक्षे शुभेयोगे सग्राह्यः शुभचंद्रमाः॥
मासे षष्ठाष्टमे पुंसां स्त्रियो मासि च पंचमे॥

  1. पूर्वाफाल्गुनी, पूर्वाषाढा, पूर्वभाद्रपद, अश्लेषा, आर्द्रा, शतभिषा, भरणी यी नक्षत्र छाेडेर 
  2. प्रतिपदा, चतुर्थी, षष्ठी, सप्तमी, नवमी, एकादशी, द्वादशी, चतुर्दशी, औँसी यी तिथि छाेडेर
  3. मंगलबार, शनिबार यी बार छाेडेर
  4. जन्म लग्न देखि अष्टम लग्न छाेडेर
  5. सोमबार बुधबार, बिहिबार शुक्रबार अश्विनी, रोहिणी, मृगशीरा, पुनर्वसु, तिष्य, उत्तरफाल्गुनी, उत्तरषाढा, उत्तरभाद्रपद, हस्ता, चित्रा, स्वाती अनुराधा, अभिजित, श्रवण, धनिष्ठा, शतभिषा र रेवती यी १७ नक्षत्र पारेर 
  6.  द्वितीया, तृतीया, पञ्चमी, सप्तमी, दशमी र त्रयोदशी (२।३।५।७।१०।१३) तिथि
  7. सोमबार बुधबार, बिहिबार शुक्रबार पारेर 
  8. प्रथम पटक भात खुवाउनको निम्ति पुत्रको ६ वा ८ महिना र पुत्रीको ५ वा ७ सौरमान महिनामा पारेर 

Note: महिना गन्दा जन्म महिनालाई पनि गन्ती गर्नुपर्दछ।

कर्णवेध (कान छेड्ने) मुहूर्त्त
श्रुतित्रयेऽदिति द्वंद्व मैत्रे हस्ते त्रयोत्तरे। भगे विधियुगे मूले पूषाश्वे सौम्यवासरे॥
द्विस्वभावे घटे लग्ने कर्णवेधः प्रशस्यते। चैत्रे पौष हरिस्वापं वर्षं च युगलं त्यजेत्॥

  1. श्रवण, धनिष्ठा, शतभिषा, पुनर्वसु, अनुराधा, हस्त, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपद, पूर्वाफाल्गुनी, रोहिणी, रोहिणी, मृगशिरा, मूल, रेवती, अश्विनी यी नक्षत्र पारेर
  2. सोमबार, बुधबार, बिहिबार, शुक्रबार यी बार पारेर
  3. चैत्र, पौष महिना र जोडा वर्ष छोडेर कान छेड्नु शुभ हुन्छ।
  4. तिथिक्षय, चतुर्मास, जन्ममास रिक्तातिथि (४।९।१४), समवर्ष, जन्म नक्षत्र छाडि
  5. ६।७।८ महिना वा जन्मदिनदेखि १२।१६ दिन पारेर
  6. छोराको दाहिने छोरीको बायाँ कान पहिला छेड्नु पर्छ।

मुण्डन (कपाल काट्ने) मुहूर्त्त
पुनर्वसुद्वयक्षौरे श्रुतियुग्मं करत्रयम्। रेवतीद्वितयं ज्येष्ठा मृगशीर्ष च गृह्यते॥
क्षौरिद्रोणहरोत्याज्या मघामैत्रे च रोहिणी। उत्तराकृत्तिकावारा भानु भौमेशनैश्चराः॥
रिक्ताषठ्यष्टमीज्ञेया क्षौरेचन्द्रक्षयोनिशा। संध्यावृष्टिश्च गंडांतं भोजनांतश्च गोगृहम्॥

  1. पुनर्वसु, पुष्य, श्रवण, हस्त, चित्रा, स्वाती, रेवती, अश्विनी, ज्येष्ठा, मृगशिरा यी नक्षत्र पारेर क्षौर कर्म गर्नु शुभ हुन्छ।
  2. मघा, अनुराधा, रोहिणी, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपदा, कृत्तिका यी नक्षत्र छोडेर
  3. आइतबार मङ्गलबार, शनिबार छोडेर
  4. रिक्ता, ४।९।१४।६।८।३० तिथि छोडेर
  5. रात्रि, सन्ध्या, भद्रा, गण्डान्त, भोजनका पछि गौशाला यी समय र स्थान त्यागेर मुण्डन गर्नु पर्दछ।

मुण्डन गर्न वर्जित समय
ऋतुमत्याः सूतिकायाः सूनोश्चौलादि नाचरेत्। ज्येष्ठापत्यस्य न ज्येष्ठे कैश्चिन्मार्गेऽपि नेष्यते॥

बालकको आमा रजस्वला भएको अवस्था वा सुत्केरी भएको अवस्था हुनुहुन्छ भने बालकको मुण्डन संस्कार (छेवर) गर्नु हुँदैन। साथै, जेठो सन्तानको मुण्डन संस्कार जेठ महिनामा नगर्नु। अन्य आचार्यहरूका अनुसार मार्गशीर्ष (मंसिर) महिनामा पनि जेठो सन्तानको मुण्डन संस्कार गर्नु हुँदैन।

अक्षरारम्भ मुहूर्त्त
हस्तत्रये हरिद्वन्द्व पूर्वाश्च मृगपंचके। मूले पौष्णे च नक्षत्रे बुधेऽर्केगुरुशुक्रयोः॥
देवोत्थाने मीनचापे लग्ने वर्षे च पंचमे। रिक्तायां च अमावास्यां प्रतिपच्च विवर्जयेत्॥
विद्यारम्भे गुरुः श्रेष्ठो मध्यमौ भृगुभास्करौ। बुधेन्दु चोपविद्यायां शनि भौमो परित्यजेत्॥
अथवा
गणेशविष्णुवाग्रमाः प्रपूज्य पञ्चमाब्दके, तिथौ शिवार्कदिद्विषट्शरत्रिके रखावुदक्।
लघुश्रवोऽनिलान्त्यमादितीशतक्षमित्रभे, चरोनसत्तनौ शिशोर्लिपिग्रहः सतां दिने॥

  1. हस्त, चित्रा, स्वाती, श्रवण, पूर्वाफाल्गुनी, पूर्वाषाढा, पूर्वभाद्रपद, मृगशिरा, आर्द्रा, पुनर्वसु, पुष्य, अश्लेषा, मूल, रेवती, नक्षत्रमा
  2. आइतबार, बिहिबार र शुक्रबार पारेर
  3. मीन, धन, लग्नमा, ५ वर्षमा पारेर 
  4. रिक्ता तिथि, औँसी र प्रतिपदा त्यागेर 
  5. शनिबार तथा मंगलबार विद्यारम्भ गर्नु हुँदैन।
  6. उत्तरायणकालमा २।३।५।६।१०।११।१२ तिथि पारेर 
  7. चरलग्न छाडी शुभ लग्नमा
  8. Note: गणेश, विष्णु, सरस्वती, लक्ष्मीको पूजा गरी अक्षरारम्भ गराउनु शुभ हुन्छ।

गणितारम्भ मुहूर्त्त

  1. रोहिणी, मृगशिरा, तिष्य, हस्त, अनुराधा, शतभिषा, पूर्वाभाद्रपद, रेवती यी ८ नक्षत्रमा
  2. बुध, गुरु र शुक्रबार शुभ हुन्छ।

व्रतबन्ध मुहूर्त्त
नियम १
पूर्वाषाढाश्विनी हस्तत्रये च श्रवणत्रये। ज्येष्ठाभगे मृगे पुष्ये रेवत्यां चोत्तरायणे॥
द्वितीयायां तृतीयायां पंचम्यां दशमी त्रये। सूर्य शुक्र सुराचार्ये वारे पक्षे तथासिते॥
लग्ने वृषे धनुः सिंहे कन्यामिथुनयोरपि। व्रतबंधः शुभे योगे ब्रह्मक्षत्रविशर्पितेः॥

  1. पूर्वाषाढा, अश्विनी, हस्त, चित्रा, स्वाती, श्रवण, धनिष्ठा, शतभिषा, ज्येष्ठा, पूर्वाफाल्गुनी, मृगशिरा, पुष्य, रेवतीयी नक्षत्रमा
  2. उत्तरायण सूर्य भएको बेलामा
  3. शुक्ल पक्षमा द्वितीया, तृतीया, पञ्चमी, दशमी, एकादशी, द्वादशी यी तिथिमा
  4. आइतबार, शुक्रबार, बिहिबारमा
  5. वृष, धनु, सिंह, कन्या, मिथुन लग्नमा, शुभ योगमा
  6. ब्राह्मण, क्षत्री तथा वैश्यको यज्ञोपवीत (व्रतबन्ध) गर्नु।

नियम २
क्षिप्रध्रुवाहिचरमूलमृदुत्रिपूर्वा, रौद्रेऽर्कविद्गुरुसितेन्दुदिने व्रतं सत्।
द्वित्रीषुरुद्ररविदिक्प्रमिते तिथौ च, कृष्णादिमत्रिलवकेऽपि न चापराह्णे॥

  1. क्षिप्रसंज्ञक, ध्रुवसंज्ञक, आश्लेषा, चरसंज्ञक, मूल, मृदुसंज्ञक, पूर्वाफाल्गुनी, पूर्वाषाढा, पूर्वाभाद्रपद र आर्द्रा नक्षत्रहरूमा
  2. आइतबार, बुधबार, बिहीबार, शुक्रबार र सोमबारका दिनहरूमा
  3. द्वितीया, तृतीया, पञ्चमी, दशमी, एकादशी र द्वादशी तिथिहरूमा
  4. अनि शुक्ल पक्ष तथा कृष्ण पक्षको पञ्चमी तिथिसम्म
  5. मध्याह्न (दिउँसो) भन्दा अगाडि उपनयन (व्रतबन्ध) गर्नु शुभ हुन्छ।

यज्ञोपवीत (व्रतबन्ध) को समय
विप्राणां व्रतबन्धनं निगदितं गर्भाज्जनेर्वाष्टमे, वर्षे वाप्यथ पञ्चमे क्षितिभुजां षष्ठे तथैकादशे।
वैश्यानां पुनरष्टमेऽप्यथ पुनः स्याद् द्वादशे वत्सरे, कालेऽथ द्विगुणे गते निगदिते गौणं तदाहुर्बुधाः॥

जन्म वर्ष सहित ५ औँ वा ८ औँ वर्षमा ब्राह्मणको, ६ औँ वा ११ औँ वर्षमा क्षत्रीको र ८ औँ वा १२ औँ वर्षमा वैश्यको यज्ञोपवीत (उपनयन) संस्कार गर्नु श्रेष्ठ मानिन्छ। माथि उल्लेखित समयभन्दा दोब्बर वर्षसम्म गरिएको उपनयनलाई मध्यम मानिन्छ।

उमेर कसरी गणना गर्ने 
व्रतबन्ध विवाहदी सर्वमंगलकर्मसु। चन्द्रतारादी संशुद्धिं चिन्तयेज्जन्मभाद्बुधः॥

कान छेड्दा, कपाल मुण्डन गर्दा, व्रतबन्द गर्दा जन्मेको वर्षलाई पनि जोडेर गणना गर्नुपर्छ।

कन्यावरण मुहूर्त्त
विश्वस्वातीवैष्णवपूर्वात्रयमैत्रै, र्वस्वाग्नेयैर्वा करपीडोचितऋक्षैः
वस्त्रालंकारादिसमेतैः फलपुष्पैः, सन्तोष्यादौ स्यादनु कन्यावरणं हि॥

उत्तराषाढा, स्वाती, श्रवण, पूर्वाफाल्गुनी, पूर्वाषाढा, पूर्वाभाद्रपद, अनुराधा, धनिष्ठा, कृत्तिका यी नक्षत्रहरूमा अथवा विवाहका लागि बताइएका शुभ नक्षत्रहरूमा वस्त्र, आभूषण आदिले युक्त फल र फूल लिएर आफ्नी कन्यालाई सन्तुष्ट पारी त्यसपछि ती कन्याको वरण (छनोट वा स्वीकार) गर्नुपर्दछ।

विवाहमा जन्ममासादिको निषेध
जन्ममासे जन्मभे च न च जन्मदिनेऽपि च। ज्येष्ठे न ज्येष्ठगर्भस्य विवाह कारयेत् क्वचित्॥

प्रथम गर्भमा जन्म हुनेको जन्मको मास, जन्म नक्षत्र, जन्म दिन, ज्येष्ठमास, यी विवाहमा त्याज्य छन्।

ज्येष्ठदोष विचार तथा अपवाद
न कन्यावरयोर्ज्येष्ठे ज्येष्ठयोः पाणिपीडनम्। द्वयोरेकतरे ज्येष्ठे न ज्येष्ठे दोषमावहेत्॥

यदि वर तथा कन्या दुवै प्रथम गर्भका भएमा ज्येष्ठमासमा विवाह विशेष गरी वर्जित छ। यदि एउटाको ज्येष्ठ होस् अर्कोको नहोओस् ता ज्येष्ठमा विवाह गर्दा दोष लाग्दैन किन भने तीन ज्येष्ठ पार्नु हुँदैन।

विवाहमा नाडी विचार
एकनाडीस्थनक्षत्रे दंपत्योर्मरणं ध्रुवम्। सेवायां च भवेद्धानि बिवाहे च शुभं भवेत्॥
अथवा 
आद्यनाडी वरं हंति मध्यनाडी च कन्यकाम्। अन्त्यनाड्यां द्वयोर्मृत्युर्नाडी वेध त्यजेद्बुधः॥

  1. वर कन्या दुवैको आद्य नाडी भए वरको मृत्यु हुन्छ।
  2. मध्य नाडी भए कन्याको मृत्यु हुन्छ।
  3. अन्त्य नाडी भए दुवैको मृत्यु हुन्छ।
  4. यस कारण विद्वान्हरूले नाडी दोष अवश्य त्याग गर्नुपर्छ।

एक नाडीमा विशेष विचार
एकनक्षत्रजातानां नाडीदोषो न विद्यते। अन्यक्षपतिवेधेषु विवाहोवर्जितः सदा॥

यदि वर र कन्याको एउटै नक्षत्रमा जन्म भएको भए ता नाडी दोष हुँदैन, पृथक्-पृथक् नक्षत्रमा जन्म भएको भए विवाह सर्वथा वर्जित छ।

विवाह जुराउँदा ग्रह बल विचार
वरस्य भास्करवलं कन्यायाश्च गुरुर्बलम्। द्वयोश्चन्द्रबलं ग्राह्यं विवाहो नान्यथा भवेत्॥

वरलाई सूर्यको बल, कन्यालाई वृहस्पतिको बल र वर कन्या दुवैलाई चन्द्रको बल ग्रहण गर्नुपर्दछ, अन्यथा विवाह नगर्नु।

गुरुबल विचार
अष्टमे द्वादशे वापि चतुर्थे वा बृहस्पतौ। पूजा तत्र न कर्तव्या विवाहे प्राणनाशकः॥

कन्याको बृहस्पति ४-८-१२ भई विवाह गरे विवाह प्राणघातक हुन्छ। यस्तामा पूजा गरेर पनि विवाह गर्नु हुन्न।

स्वयम्वर मुहूर्त्त
कृतिका, रोहिणी, पूर्वाभाद्रपदा, पूर्वषाढा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपदा यी नक्षत्रमा शुभ छ।

वधूप्रवेश मुहूर्त्त
हस्तत्रये ब्रह्मयुगे मघायां पुष्येधनिष्ठा श्रवणोत्तरेषु। मूलानुराधा हयरेवतीषु स्थिरेषु लग्नेषु वधूप्रवेशः॥

  1. विवाहदेखि १६ दिनभित्र, सम दिन वा ५।७।९ दिनमा वा १६ दिन नाघ्यो भने विषम मास वा विषम वर्ष लिनू।
  2. ५ वर्षदेखि अधिक भएमा शुभ मुहूर्त्तमा
  3. उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तराभाद्रपदा, रोहिणी, हस्त, अश्विनी, तिष्य, मूल, रेवती, चित्रा, अनुराधा, श्रवण, धनिष्ठा, मघा, स्वाती यी १६ नक्षत्रमा
  4. ४।९।१४ तिथि छाडी
  5. आइतबार, मंगलबार, बुधबार छाडी
  6. वधुप्रवेश गर्नु राम्रो हुनेछ।

वास्तुकर्म मुहूर्त्त
पूर्वाषाढादितिद्वन्द्व विधियुग्मं हरित्रयम्। उत्तराफाल्गुनी हस्तत्रय मूलं च रेवती॥
श्रावणश्चाथ वैशाखः कार्तिकः फाल्गुनस्तथा। मासेषु मार्गशीर्षश्र वास्तुकर्मणि शस्यते॥
वज्रव्याघातशूलश्च व्यतीपातश्च गंडकः। विष्कुम्भपरिघोवर्ज्यो वारो भौमश्च भास्करः॥

  1. पूर्वषाढा, पुनर्वसु, पुष्या, रोहिणी, मृगसिरा, श्रवण, धनिष्ठा, सतभिषा, उत्तरफाल्गुनी, हस्ता, चित्रा, स्वाती, मूल, रेवती, अनुराधा, अश्विनी यी नक्षत्र पारेर
  2. वैशाख, श्रावण, कार्तिक, फागुन, मङ्सिर महिना पारेर वृष वास्तु चक्र जुराई 
  3. वज्र, व्याघात, शूल, व्यतीपात, गंडक, विष्कुम्भ, परिघ यी योग छोडेर
  4. आइतबार र मङ्गलबार यी बार छोडेर

वृषवास्तु चक्र
गेहाद्यारम्भेऽर्कभाद्वत्सशीर्षे रामैर्दाहो वेदभैरग्रपादे। शून्यं वेदैः पृष्ठपादे स्थिरत्वं रामैः पृष्ठे श्रीर्युगैर्दक्षकुक्षौ॥

लाभो रामैः पुच्छगैः स्वामिनाशो वेदैर्नैः स्वं वामकुक्षौ मुखस्थैः। रामैः पीडा सन्ततं वार्कधिष्ण्यादश्वैरुद्रैर्दिग्भिरुक्तं ह्यसत्सत्॥

सूर्यभात् वृषभचक्रम्

गृहारम्भ मुहूर्त्त(जग राख्ने)

  1. कर्ताको सूर्य, गुरु चन्द्रबली भई
  2. जामित्र-विवाहोक्त सम्पूर्ण दोष छाडी
  3. ४।९।१४ तिथि, आइत, मंगलबार चरलग्न, चराशंक छाडी
  4. रोहिणी, मृगशिरा, तिष्य, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपद, हस्त, चित्रा, स्वाती, अनुराधा, धनिष्ठा, शतभिषा, रेवती यी १३ नक्षत्रमा
  5. पौष, फाल्गुन, वैशाख, श्रावण, कार्तिक, मार्गशीर्ष मासमा, वृषवास्तुचक्रसमेत जुराई गृहारम्भ गर्नू।

गृहवास्तु मुहूर्त्त

  1. वैशाख, श्रावण, कार्त्तिक, मार्गशीर्ष, फाल्गुन महिना
  2. अश्विनी, रोहिणी, मृगशिरा, पुनर्वसु, तिष्य, उत्तराफाल्गुनी, हस्त, चित्रा, स्वाती, अनुराधा, पूर्वाषाढा, श्रवण, धनिष्ठा, शतभिषा, रेवती यी १५ नक्षत्रमा
  3. २।३।५।६।१०।११ लग्नमा वास्तुचक्रसमेत जुराई वास्तु गर्नु शुभ छ।

वास्तु पूजा र गृहप्रवेश विधि
मृदुध्रुवक्षिप्रचरेषु मूलभे वास्त्वर्चनं भूतबलिञ्च कारयेत्। त्रिकोणकेन्द्रायधनत्रिगैः शुभैर्लग्ने त्रिषष्ठायगतैश्च पापकैः॥
शुद्धाम्बुरन्ध्रे विजनुर्भमृत्यौ व्यार्काररिक्ताचरदर्शचैत्रे। अग्रेऽम्पूर्ण कलशं द्विजांश्च कृत्वा विशेद्वेश्म भकूटशुद्धम्॥

  1. गृह प्रवेशका लागि शुभ नक्षत्रहरूः 
    • मृदु संज्ञकः मृगशिरा, रेवती, चित्रा, अनुराधा 
    • ध्रुव (स्थिर) संज्ञकः उत्तरा फाल्गुनी, उत्तराषाढा, उत्तरा भाद्रपद, रोहिणी
    • क्षिप्र (लघु) संज्ञकः हस्त, अश्विनी, पुष्य
    • चर संज्ञकः स्वाती, पुनर्वसु, श्रवण, धनिष्ठा, शतभिषा, मूल नक्षत्र गृह प्रवेश र वास्तु पूजाको लागि उपयुक्त हुन्छ।
  2. आइतबार र मंगलबार त्याग्नुपर्ने
  3. रिक्ता तिथि (४, ९, १४) र औंसी (अमावस्या) त्याग्नुपर्ने
  4. चर लग्न (मेष, कर्कट, तुला, मकर) त्याग्नुपर्ने
  5. चैत महिना त्याग्नुपर्ने

द्बारन्यास मुहूर्त्त
अश्वि. ३ उत्तरा.ह.ति. श्र.म.स्वा.रे. रो. यी ११ नक्षत्रमा द्बार चक्र जुराई ढोका बसाल्नु शुभ छ।

गृहच्छादन मुहूर्त्त
२।३।५।१०।११।१३ तिथिमा ह. अश्वि. ति. अभि. चि. स्वा. मृ. पु. रो. उफाः उषा. अनु. यी १२ नक्षत्रमा रवि. मंगलबार छाडी घरछाउनु शुभहुन्छ।

पात्रको डाटा हाल्ने 
वृषवास्तु चक्र, कलश चक्र, द्वार चक्र

वाहन प्रयोग मुहूर्त्त
(कार बाइक बस आदि सवारी साधन किन्ने दिन कसरी जुराउने?)

  1. स्वाती, पुनवसु, श्रवण, धनिष्ठा, शतभिषा यी नक्षत्र पारेर
  2. सोमबार, शुक्रबार पारेर
  3. अशुभकाल त्यागी पारेर

वाहन, साइकल, मोटर-साइकल, कार आदि किन्नु बेच्नु वा प्रथम प्रयोग गर्नु शुभ हुन्छ। वाहनको रंग आफ्नो राशि, राशिको स्वामी वा लग्नेशको अनुसार उपयोग गरेमा उचित होला।

पसल खोल्ने मुहूर्त्त
पूर्वाद्वीशकृशानुसार्पयमभे केन्द्रत्रिकोणे शुभैः, षट्ट्ट्यायेष्वशुभैर्विना घटतनुं सन्विक्रयः सत्तिथौ।
रिक्ताभौमघटान्विना च विपणिमैत्रध्रुवक्षिप्रभै, र्लग्ने चन्द्रसिते व्ययाष्टरहितैः पापैः शुभैर्द्धयायखे॥

  1. रिक्ता, अमावस्य तिथि छाडेर
  2. मङ्गलबार छाडेर
  3. चर र कुम्भ लग्न छाडेर
  4. अश्विनी, रोहिणी, मृगशिरा, तिष्य, उत्तरा फाल्गुनी, उत्तराषाढा, उत्तरा भाद्रपद, हस्त, चित्रा, अनुराधा, रेवती यी नक्षत्र पारेर
  5. लग्नबाट १, ८, १२ स्थानको पापग्रह शुद्ध गरी पसल थाप्नु शुभ हुन्छ।

त्रिपुष्करयोग
भद्रातिथी रविभूतनयार्कवारे द्वीशार्यमाजचरणादितिवह्निवैश्वे। पुष्करो भवति मृत्युविनाशवृद्धौ त्रैगुण्यदो द्विगुणकृद्धसुतक्षचान्द्रे॥

जब यी तीनवटै कुराहरू (बार, तिथि र नक्षत्र) एकैसाथ मिल्छन्, तब त्रिपुष्कर योग बन्दछः

  1. बारः आइतबार (रवि), मंगलबार वा शनिबार।
  2. तिथिः भद्रा संज्ञक तिथिहरू (द्वितीया, सप्तमी वा द्वादशी)।
  3. नक्षत्रः विशाखा, उत्तरा फाल्गुनी, पूर्वा भाद्रपद, पुनर्वसु, कृत्तिका वा उत्तराषाढा।

यो योगमा गरिने कुनै पनि कामको फल तेब्बर (तीन गुणा) हुन्छ। यदि यो योगमा कसैको मृत्यु भएमा वा कुनै नोक्सानी भएमा त्यो तीन पटकसम्म दोहोरिन सक्ने वा तीन गुणा बढी विनाशकारी हुने मानिन्छ। त्यसैगरी, शुभ कार्य वा धन वृद्धि भएमा त्यो पनि तीन गुणाले बढ्छ।

द्विपुष्कर योग

  1. बारः आइतबार (रवि), मंगलबार वा शनिबार।
  2. तिथिः भद्रा संज्ञक तिथिहरू (द्वितीया, सप्तमी वा द्वादशी)।
  3. नक्षत्रः धनिष्ठा, चित्रा वा मृगशिरा।

यो योगमा गरिने कामको फल दोब्बर (दुई गुणा) हुन्छ। यसमा हुने लाभ वा हानि दुवै दुई गुणाले बढ्ने गर्दछ।

बृहस्पति र शुक्र अस्त भएको समयमा वर्जित कार्य
वाप्यारामतडागकूपभवनारम्भप्रतिष्ठे व्रता, रम्भोत्सर्ग-वधूप्रवेशन-महादानानि सोमाष्टके।
गोदानाग्रयण- प्रपाप्रथमकोपाकर्म्म-वेदव्रतं, नीलोद्वाहमथातिपन्नशिशुसंस्कारान् सुरस्थापनम्॥
दीक्षा- मौञ्जि-विवाह-मुण्डनमपूर्व-देवतीर्थेक्षणं, संन्यासाग्निपरिग्रहौ नृपतिसन्दर्शाभिषेकौ गमम्।
चातुर्मास्यसमावृती श्रवणयोर्वेधं परीक्षां त्यजेत्, वृद्धत्वास्तशिशुत्व इज्यसितयोर्न्यूनाधिमासे तथा॥

वापी (वातावरणमैत्री ठूला इनार), उपवन (बगैँचा), पोखरी, इनार र भवनको नयाँ निर्माण (शिलान्यास), प्रतिष्ठा (पूजा) तथा गृहप्रवेश; अनन्त र शिवरात्रि जस्ता व्रतहरूको आरम्भ र उद्यापन; वधूप्रवेश (बुहारी भित्र्याउने), षोडश महादान, सोमयज्ञ, अष्टकाश्राद्ध, गोदान-केशान्त कर्म, आग्रयण (नयाँ अन्न खाने उत्सव), जलशाला (प्याऊ वा पौवा स्थापना), प्रथम श्रावणी कर्म, वेदव्रत, उपनिषद्व्रत, महानाम्नी व्रत र वेदहरूको अध्ययन आरम्भ, नीलवृषोत्सर्ग (साँढे छोड्ने), समयमा हुन नसकेका बालबालिकाका संस्कारहरू, देवताको मूर्ति स्थापना, गुरुबाट मन्त्र ग्रहण (दीक्षा), उपनयन (व्रतबन्ध), विवाह, चूडाकर्म (मुण्डन), पहिलो पटक देवताको दर्शन र तीर्थयात्रा, संन्यास ग्रहण, अग्निहोत्र, राजदर्शन, राज्याभिषेक, यात्रा, चातुर्मास्य यज्ञ, समावर्तन (विद्यार्थी जीवनको समाप्ति), कान छेड्ने (कर्णवेध) र दिव्यपरीक्षा, कहिल्यै नगएको तीर्थ जानु, त्यस्तै सप्ताह नवाहादि पुराण लगाउनु, यज्ञ, व्रतप्रतिष्ठा आदि मन्दिर निर्माणको आरम्भ, देवता स्थापन प्राणप्रतिष्ठा आदि गुरु-शुक्रको अस्त, क्षयमास-मलमासमा र विश्वघस्रपक्ष (१३ दिनको पक्ष) मा पनि गर्न हुँदैन।

गुरु र शुक्र अस्ताएको बखतमा स्नान, सन्ध्या, पाञ्चायन पूजा, चातुर्मास्यव्रत, तुलसी पूजा एवं विवाह, स्वस्ति-शान्ति, रामनवमी आदिको व्रत जस्ता नित्यकर्महरू र श्राद्ध-तर्पण, आशौच, मृतकको क्रिया, ग्रहण स्नानादि नैमित्तिक कर्महरू गर्नहुन्छ।

भैँसी, बाख्रा किन्ने-बेच्ने मुहूर्त्त
पूर्वामैत्रद्वयं मूलं वासवीरेवतीकरः। पुनर्वसुद्वयं ग्राह्यं पशूनां क्रयविक्रये॥
पुष्यो भाद्रपदायुग्मं स्वाती श्रुतितथाश्विनी। हस्तोत्तरामृगोमैत्रं तथाश्लेषा च रेवती॥
ग्राह्याणिभानि चैतानि क्रयविक्रययोबुधैः। चन्द्रभार्गवजीवानां वाराः शकुन मुत्तमम्॥

पूर्वाभाद्रपदा, पूर्वषाढा, पूर्वाफाल्गुनी, अनुराधा, ज्येष्ठा, मूल, धनिष्ठा, रेवती, हस्त, पुष्य, पुनर्वसु यी नक्षत्रमा पशुहरूको क्रम विक्रय गरे शुभ हुन्छ, तथा पुष्य, पूर्वाभाद्रपदा, उत्तराभाद्रपदा, स्वाती, अश्विनी, श्रवण, हस्त, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपद, मूल, अनुराधा, अश्लेषा, रेवती नक्षत्रमा, सोमबार बुधबार, शुक्रबार उत्तम शकुन यी सब पनि क्रय विक्रयमा शुभ कहिएका छन्।

राज्याभिषेक मुहूर्त्त
रेवतीयुगलेपुष्येरोहिण्यां मृगमैत्रयोः। श्रवणोत्तर शुक्रेषु राज्ञास्यादभिषेचनम्॥

रेवती, अश्विनी, पुष्य, रोहिणी, मृगशिरा, अनुराधा, श्रवण, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपद, ज्येष्ठा, नक्षत्रमा राज्याभिषेक गर्नु शुभ हुन्छ।

नयाँ वस्त्र धारण मुहूर्त्त
हस्तादिपंचकेऽश्विन्यां धनिष्ठायां च पूषणि। गुरो शक्रे बुधे वारे धार्यं स्त्रीभिर्नवांबरम्॥
लग्ने मीने च कन्यायां मिथुने च वृषे शुभम्। पुंभिः पुनर्वसुद्वन्द्वे रोहिण्युत्तरभेषु च॥

  1. हस्त, चित्रा, स्वाती, विशाखा, अनुराधा, अश्विनी, धनिष्ठा, रेवती यी नक्षत्रहरूमा, बिहिबार र शुक्रबार स्त्रीले नवीन वस्त्र धारण गर्नु शुभ हुन्छ।
  2. मीन, कन्या, मिथुन, वृष यी शुभलग्नहरूमा तथा पुनर्वसु, पुष्य, रोहिणी, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपद यी नक्षत्रहरूमा पुरुषले नवीन वस्त्र धारण गर्नु शुभ हुन्छ।

अग्निवास ज्ञानम् (अग्नि जुराउन नपर्ने)
विवाहयात्राव्रतगोचरेषु चूडोपनित्योः ग्रहणे युगादौ। दुर्गाविधानेन सुतप्रसूतौ नैवाग्निचक्रपरिचिन्तनीयम्॥

विवाह, यात्रा, जन्मोत्सव, गोचर ग्रह शान्ति गर्दा (ग्रह कटाउँदा), व्रतबन्ध, दुर्गा पूजा (दशैँको होम), सूतकको हवन गर्दा, व्रत गर्दा गरिने होम, ग्रहणको साङ्गतामा गरिने हवन आदिमा अग्निवास जुराउनु पर्दैन।

अन्धादिशुक्रका फल
रेवत्यादिमृगान्तं च यावत्तिष्ठतिचन्द्रमाः। तावच्छुक्रो भवेदंधः संमुखे दक्षिणे शुभः॥

रेवतीदेखि मृगशिरासम्म जबसम्म चंद्रमा रहुन् तबसम्म शुक्र अंधो रहन्छन्, ती सम्मुख दाहिने यात्रामा शुभ हुन्छन्।

रोगी स्नान मुहूर्त्त
अश्लेषाद्वितय स्वाती रोहिणी च पुनर्वसुः। रोगीस्नाने रेवती च वर्जयेदुत्तरा त्रयम्॥
रिक्तातिथौ चरेलग्ने वारे च रविभौमयोः। स्नानं च रोगिणां प्रोक्तं द्विजभोजनसंयुतम्॥

  1. अश्लेषा, मघा, स्वाति, पुनर्वसु, रेवती, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तराभाद्रपद
  2. रिक्ता (४-९-१४) तिथि
  3. चर (मेष, कर्कट, तुला, मकर लग्न) आइतबार तथा मंगलबार रोगीलाई स्नानमा वर्जित छ। जब रोगीलाई स्नान गराउनु तब ब्राह्मणहरूलाई भोजन गराउनाले शुभ छ।

पञ्चक भनेको के हो? पञ्चकमा गर्न नहुने कामहरू
धनिष्ठापञ्चके, त्याज्यस्तृणकाष्ठादि संग्रहे। त्याज्यदक्षिणदिग्यात्रा गृहाणां छादनं तथा॥

धनिष्ठा, शतभिषा, पूर्वाभाद्रपदा, उत्तराभाद्रपदा र रेवती यी पाँचवटा नक्षत्रलाई पञ्चक भनिन्छ, र पञ्चकमा पानी टङ्की, Furniture संग्रह गर्न, दक्षिणको यात्रा, लास जलाउन तथा भवन ढलाइ गर्न अत्यन्त घातक हुन्छ।

क्रय-विक्रय (Import-Export) मुहूर्त्त
पुष्यं भाद्रपदायुग्मं मैत्रं श्रवणमश्विनी। हस्तोत्तरामृगस्वाती तथा श्लेषा च रेवती।
ग्राह्याणिभानिचैतानि क्रयविक्रयणे बुधैः। चन्द्रभार्गवजीवाश्च वाराः शकुनमुत्तमम्॥

पुनर्वसु, पूर्वाभाद्रपद, उत्तरभाद्रपद, अनुराधा, श्रवण, अश्विनी, हस्ता, उत्तरफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपद, मृगशिरा, स्वाती, अश्लेषा, रेवती यी नक्षत्र, क्रय-विक्रय कार्यमा शुभ छन्, शुक्र, बृहस्पति, यी वार तथा उत्तम शकुन हुनु पनि श्रेष्ठ छ।

गृहप्रवेश मुहूर्त्त
विशाखा भरणी पूर्वा हेया श्लेषा मघा तथा। अमावास्या च रिक्ता च वारौ भौमरविस्तथा॥
गृहप्रवेशो वैशाखे श्रावणे फाल्गुने तथा। आश्विने च स्थिरे लग्ने ग्राह्यः पक्षो बुधैः सितः॥

  1. विशाखा, भरणी, पूर्वफाल्गुनी, पूर्वाषाढा, पूर्वभाद्रपद, अश्लेषा, मघा नक्षत्र यी गृहप्रवेशमा वर्जित छन्।
  2. औँसी र रिक्ता (४।९।१४) तिथि यी गृहप्रवेशमा वर्जित छन्।
  3. मङ्गलबार, आइतबार यी गृहप्रवेशमा वर्जित छन्।
  4. वैशाख, श्रावण, फाल्गुन, आश्विन यी मासमा वृष, सिंह, बृश्चिक, कुम्भ यी स्थिर लग्न शुक्लपक्षमा गृहप्रवेश उत्तम हुन्छ।

जलपूजन मुहूर्त्त
मूलादितिद्वयं मैत्रं श्रुति चान्द्र कराः शुभाः। जलावाप्यर्चनं हेयाः शुक्रमंदार्कभूमिजाः॥

  1. मूल, पुनर्वसु, पुष्य, श्रवण, मघा, हस्त यी नक्षत्र कूप तथा जलपूजनलाई श्रेष्ठ हुन्छन
  2. आइतबार, मंगलबार, शुक्रबार, शनिबार यी बार वर्जित हुन्छन

सुत्केरीले पानी छुने र स्नान गर्ने मुहूर्त्त
रोहिण्युत्तररेवत्यो मूलं स्वात्यनुराधयोः। धनिष्ठा च त्रयः पूर्वा ज्येष्ठा च मृगशीर्षकम्॥
एतान्युक्तानि वै भानि प्रसूतिस्नान कोविदैः। वारे भौमार्कयोर्जीवे स्नानमुक्तं सदैव हि॥

  1. रोहिणी, उत्तरा फाल्गुनी, उत्तराषाढा, उत्तरा भाद्रपद, रेवती, मूल, स्वाती, अनुराधा, धनिष्ठा, पूर्वाफाल्गुनी, पूर्वाषाढा, पूर्वाभाद्रपद, ज्येष्ठा, मृगशिरा यी नक्षत्र पारेर 
  2. मङ्गलबार आइतबार र बिहिबार यी बार पारेर सुत्केरीले पानी छुन र स्नान गर्न शुभ हुन्छ।

बच्चालाई घरदेखि बाहिर निकाल्ने मुहूर्त्त
मैत्रत्रये हरिद्वन्द्वे विधिद्वन्द्वेऽदितिद्वये। स्वातीहस्तोत्तराषाढा पूषार्यमहयेषु च॥
सिंहत्रये घटे लग्ने मासयोस्त्रिचतुर्थयोः। यात्रातिथौ च निष्कास्यः शिशुनंवार्कि भौमयोः॥

  1. अनुराधा, ज्येष्ठा, मूल, श्रवण, धनिष्ठा, रोहिणी मृगशिरा, पुनर्वसु, पुष्य, स्वाति,
  2. हस्ता, उत्तराषाढा, रेवती उत्तराफाल्गुनी, अश्विनी यी नक्षत्रहरूमा
  3. सिंह, कन्या, तुला, कुम्भ, यी लग्नमा पारेर
  4. तेश्रो वा चौथो महिना पारेर 
  5. द्वितीया, तृतीया, पञ्चमी, सप्तमी, दशमी, एकादशी, त्रयोदशी र कृष्णपक्षको प्रतिपदा तिथि पारेर
  6. शनिबार, मङ्गलबारलाई छोडी अन्य शुभबारमा बालकलाई घरबाट बाहिर निकाल्नु शुभ हुन्छ।

नामकरण (न्वारन) मूहूर्त
नामकरण मूहूर्त एकादशे दिने॥ स्थिरे लग्ने बालनामकृतं शुभम्॥

११ दिनमा, स्थिर लग्नमा, तथा अन्य शुभ योगमा बालकको नामकरण शुभ हुन्छ।

गर्भधारण मुहूर्त्त
शुभे त्रिकोणे केन्द्रस्थे पापे षष्ठे त्रिलाभगे। पुत्रकामः स्त्रियं गच्छेन्नरो युग्मासुरात्रिषु॥

  1. त्रिकोण (५।९ भाव) मा केन्द्र (१।४।७।१० भाव) मा शुभग्रह होउन् तथा ३।६।११ भावमा पापग्रह भएको बेलामा
  2. मासिकधर्मका तीन दिन त्याग गरी समरात्रिमा पुत्रको इच्छा गर्ने मनुष्यले पुत्रकामनाले स्त्रीको सहवास गर्नु।

भद्रा निवास
मेष मकर वृषकर्कट स्वर्गे, कन्या मिथुन तुला धनुनागे। कुंभमान अलिकेसरि मर्त्ये विचरति भद्रा त्रिभुवनमध्ये॥

  1. मेष, मकर, वृष, कर्कटका चन्द्रमा हुँदा भद्रा स्वर्ग लोकमा हुन्छ।
  2. कन्या, मिथुन, तुला धनका चन्द्रमा हुँदा भद्रा पाताल लोकमा हुन्छ।
  3. कुम्भ मीन, वृश्चिक, सिंहका चन्द्रमा भएमा हुँदा भद्रा मर्त्य लोकमा भद्रा हुन्छ।
  4. यस प्रकारले भद्रा तीन-भुवनमा विचरण गर्दछ।

भद्रा निवासको फल
स्वर्गे भद्रा शुभं कार्यं पाताले च धनागमम्। मृत्युलोके यदा विष्टिः सर्वकार्यविनाशिनी॥

  1. स्वर्गलोकमा भद्रा भए शुभदायक हुन्छ।
  2. पातालमा भद्रा भए धन लाभ हुन्छ।
  3. मृत्युलोकमा भए सर्वकार्यको विनाश गर्ने हुन्छ।

भद्राको मुख तथा त्यसको फल
सम्मुखे मृत्युलोकस्था पाताले च अधोमुखी। ऊर्ध्वस्था स्वर्गमा भद्रा सम्मुखे मरणप्रदा॥

मत्युलोकमा भद्रा सम्मुख, पातालमा अघोमुख, स्वर्गमा ऊर्ध्वमुख रहन्छ। यदि सम्मुख भद्रा भयो भने मृत्युदायक हुन्छ।

विवाह मास
माघे धनवती कन्या फाल्गुने सुभगा भवेत्। वैशाखे च तथा ज्येष्ठे पत्युरत्यंत बल्लभा॥
आषाढे कुलवृद्धिस्यादन्ये मासाश्च वर्जिताः। मार्गशीर्षमपीच्छन्ति विवाहे केऽपि कोबिदाः॥

  1. माघमा विवाह भएमा कन्या धनवती हुन्छिन्।
  2. फागुनमा विवाह भएमा कन्या सौभाग्यवती हुन्छिन्।
  3. वैशाख र जेठमा विवाह भएमा कन्या श्रीमानकी प्रिय हुन्छिन्।
  4. असारमा विवाह भएमा कन्याले कुलको वृद्धि गर्ने, मङ्सिरलाई शुभ मानिन्छ।

Note: यी बाहेक अन्य महिना विवाहको लागि वर्जित छन्।

विवाह नक्षत्र
रोहिण्युत्तररेवत्या मूलं स्वाति मृगों मघा। अनुराधा च हस्तश्च विवाहे मंगलप्रदाः॥

रोहिणी, तीन उत्तरा, मूल, स्वाती, रेवती, मृगशिरा, मघा, अनुराधा, हस्ता यी एघार नक्षत्र विवाहमा शुभदायक छन्।

विवाहमा वर्ज्य
अमावास्या च रिक्ता च वारवेला च जन्मभम्। गण्डान्तं क्रूरवाराश्र वर्जनीयाः प्रयत्नत॥

  1. अमावस्या, रिक्ता तिथि (४-९-१४)
  2. जन्मको नक्षत्र परेको दिन
  3. जन्मबार, क्रूरबार (आइतबार, मङ्गलबार, शनिबार)
  4. गण्डान्त मूल यी दिनमा विवाह गर्नु अत्यन्त घातक हुन्छ।

ऋण लिने-दिने मुहूर्त्त
स्वात्यादित्यमृदुद्विदैवगुरुभे कर्णत्रयाश्वे चरे, लग्ने धर्म्मसुताष्टशुद्धिसहिते द्रव्यप्रयोगः शुभः।
नारे ग्राह्यमृणन्तु संक्रमदिने वृद्धौ करेऽर्केऽह्नि यत्, तद्वंशेषु भवेदृणं न च बुधे देयं कदाचिद् धनम्॥

  1. चरलग्न र बुधबार छाडी
  2. अश्विनी, मृगशिरा, पुनर्वसु, तिष्य, चित्रा, स्वाती, विशाखा, अनुराधा, श्रवण, धनिष्ठा, शतभिषा, रेवती यी नक्षत्र पारेर धन दिनू।
  3. बुधबार ऋण नदिनू र मङ्गलबार ऋण नलिनू।

बार र नक्षत्र योगले सर्बार्थसिद्धियोग
सूर्येऽर्कमूलोत्तरपुष्यदासत्रं चन्द्रे श्रुतिब्राह्मशशीज्यमैत्रम्।
भौमेऽशव्यहिर्बुध्न्यकृशानुसार्पं ज्ञे ब्राह्ममैत्रार्ककृशानुचान्द्रम्॥
जीवे उन्त्यमैत्राश्व्यदितीज्यधिष्ण्यं शुक्रेऽन्त्यमैत्रा' श्व्यदितिश्रवोभम्।
शनौ श्रुतिब्राह्मसमीरभानि सर्बार्थसिद्ध्यै कथितानि पूर्वैः॥
— मुहूर्त्त चिन्तामिण

  1. आइतबारको दिनः अश्विनी, तिष्य, हस्ता, मूल, उत्तरभाद्रपदा, उत्तरा फाल्गुनी, उत्तराषाढा यी नक्षत्र परेमा त्यो दिन सर्बार्थसिद्धियोग हुन्छ। त्यो दिन समस्त शुभकार्य गर्न मिल्छ। 
  2. सोमबारको दिनः रोहिणी, मृगसिरा, तिष्य, अनुराधा, श्रवण यी नक्षत्र परेमा त्यो दिन सर्बार्थसिद्धियोग हुन्छ। त्यो दिन समस्त शुभकार्य गर्न मिल्छ। 
  3. मङ्गलबारको दिनः कृतिका, अश्विनी, उत्तरभाद्रपदा, अश्लेषा यी नक्षत्र परेमा त्यो दिन सर्बार्थसिद्धियोग हुन्छ। त्यो दिन समस्त शुभकार्य गर्न मिल्छ। 
  4. बुधबारको दिनः रोहिणी, अनुराधा, हस्ता, कृतिका, मृगसिरा यी नक्षत्र परेमा त्यो दिन सर्बार्थसिद्धियोग हुन्छ। त्यो दिन समस्त शुभकार्य गर्न मिल्छ। 
  5. बृहस्पतिको दिनः अश्विनी, तिष्य, अनुराधा, पुनर्वसु, रेवती यी नक्षत्र परेमा त्यो दिन सर्बार्थसिद्धियोग हुन्छ। त्यो दिन समस्त शुभकार्य गर्न मिल्छ। 
  6. शुक्रबारको दिनः अश्विनी, तिष्य, अनुराधा, पुनर्वसु, श्रवण यी नक्षत्र परेमा त्यो दिन सर्बार्थसिद्धियोग हुन्छ। त्यो दिन समस्त शुभकार्य गर्न मिल्छ। 
  7. शनिबारको दिनः श्रवण, रोहिणी, स्वाती यी नक्षत्र परेमा त्यो दिन सर्बार्थसिद्धियोग हुन्छ। त्यो दिन समस्त शुभकार्य गर्न मिल्छ। 

जलाशयारम्भ मुहूर्त्त (कुवा-इनार खन्ने)

  1. रोहिणी, मृगशिरा, तिष्य, उत्तरा फाल्गुनी, उत्तराषाढा, उत्तराभाद्रपद, हस्त, अनुराधा, पूर्वाषाढा, धनिष्ठा, शतभिषा, रेवती नक्षत्रमा
  2. बुध वा गुरु लग्नमा भई १० स्थानमा शुक्र र जलचर राशिका चन्द्रमा भएका बखतमा
  3. गुरु-शुक्रको उदय पारी
  4. राहुको मुखपीठमा गराई तलाउ, कुवा, जलाशयको आरम्भ गर्नु शुभ छ।

द्विरागमन मुहूर्त्त

  1. सम्मुख तथा दाहिने शुक्र छाडी
  2. १।८।११ राशिको सूर्यमा,
  3. सूर्य, गुरु शुद्ध भई,
  4. सोम, बुध, गुरु, शुक्रबार,
  5. ३।१२।६।७।२ लग्नमा
  6. हस्त, अश्विनी, तिष्य, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तराभाद्रपदा, रोहिणी, स्वाती, पुनर्वसु, श्रवण, धनिष्ठा, शतभिषा, मूल, रेवती, चित्रा, अनुराधा, मृगशिरा यी १८ नक्षत्रमा द्विरागमन गर्नु राम्रो हुनेछ।

शिलान्यास मुहूर्त्त
अश्विनी, रोहिणी, मृगशिरा, तिष्य, हस्त, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपदा, श्रवण, रेवती यी नक्षत्रमा शुभ छ।

ढोकाराख्ने मुहूर्त्त
अश्विनी, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपदा, हस्त, तिष्य, श्रवण, मृगशिरा, स्वाती, रेवती, रोहिणी यी ११ नक्षत्रमा द्बारचक्र जुराई ढोका बसाल्नु शुभ छ।

गृहच्छादन मुहूर्त्त (घर छाउने)

  1. २।३।५।१०।११।१३ तिथिमा
  2. अश्विनी, रोहिणी, मृगशिरा, पुनर्वसु, तिष्य, उत्तराफाल्गुनी, हस्त, चित्रा, स्वाती, अनुराधा, उत्तराषाढा, अभिजित यी १२ नक्षत्रमा
  3. आइतबार तथा मङ्गलबार छाडी गृहच्छादन (घर छाउनु) शुभ छ।

गृहप्रवेश मुहूर्त्त

  1. वैशाख, ज्येष्ठ, माघ, फाल्गुन महिनामा
  2. रोहिणी, मृगशिरा, चित्रा, अनुराधा, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपदा, रेवती यी ८ नक्षत्रमा
  3. जन्मनक्षत्र, जन्मलग्नदेखि अष्टम लग्न छाडी
  4. आइतबार, मंगलबार छाडी
  5. रिक्ता अमा, तिथि छाडी गाई, कन्या, जलपूर्ण कलश र ब्राह्मण अघिलगाई कलशचक्रसमेत जुराई गृहप्रवेश गर्नू।

पशुहरूको गृहप्रवेश मुहूर्त्त (गोठ सार्ने)

  1. ४।९। १४।८।३० तिथि छाडेर
  2. मङ्गलबार छाडेर
  3. रोहिणी, श्रवण, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपदा नक्षत्र छाडेर
  4. योगिनीचक्रसमेत जुराई पशुलाई सार्नु शुभ हुन्छ।

गुन्यो चाेलाे मूहूर्त
हस्तादिपंचकेऽश्विन्यां धनिष्ठायां च पूषणि। गुरो शक्रे बुधे वारे धार्यं स्त्रीभिर्नवांबरम्॥

  1. रिक्तातिथि छाडेर
  2. हस्त, चित्रा, स्वाती, विशाखा, अनुराधा, अश्विनी, धनिष्ठा, रेवती यी नक्षत्रहरू पारेर 
  3. बुधबार, विहिबार, शुक्रबार पारेर 
  4. स्त्रीले गुन्यो चाेलाे गर्नु अत्यन्त शुभ हुन्छ। स्त्रीले वस्त्र वा गहना लगाउनू।

मीत लगाउँने मुहूर्त्त दिन कसरी जुराउने ?

  1. ८।१२ तिथि पारेर
  2. तैतिल करण पारेर
  3. सोम, बुध, गुरु, शुक्रबार पारेर
  4. मृगशिरा, तिष्य, पूर्वाफाल्गुनी, चित्रा, रेवती यी नक्षत्र पारेर

दीक्षाग्रहण मुहूर्त्त

  1. वैशाख, श्रावण, आश्विन, कार्त्तिक, मार्गशीर्ष मासमा
  2. अश्विनी, रोहिणी, मृगशिरा, आर्द्रा, पूर्वाभाद्रपदा, पूर्वषाढा, पूर्वाफाल्गुनी, उत्तराफाल्गुनी, उत्तराषाढा, उत्तरभाद्रपद, पुनर्वसु, तिष्य, हस्त, विशाखा, स्वाती, अनुराधा, मूल, श्रवण, धनिष्ठा, शतभिषा, रेवती नक्षत्रमा
  3. आइत, सोम, बुध, गुरु, शुक्रबारमा
  4. २।३।५।८।११ शुक्लपक्ष र २।३।५ कृष्णपक्षको तिथि
  5. गुरुशुक्रको उदयकालमा चन्द्रमा र तारा-बल जुराई
  6. भद्रा छोडी संक्रान्ति र सूर्य- चन्द्रग्रहणमा दीक्षा मन्त्र लिनु शुभ छ।
+977-9844768353 +977-9823646855