वर्णो वश्यं तथा तारा योनिश्च ग्रहमैत्रकम्। गणमैत्रं भकूटञ्च नाडी चैते गुणाधिकाः॥
वर्ण, वश्य, तारा, योनि, ग्रहमैत्री, गणमैत्री, भकूट र नाडी; यी आठै कूटहरूको गुण क्रमशः एक–एक थप हुँदै गर्दै बढ्दै जान्छन्।

मानव जीवनका संस्कारहरु मध्ये विवाहलाई सबैभन्दा महत्त्वपूर्ण संस्कारको रुपमा लिइन्छ। बैवाहिक सम्बन्ध कायम गर्नु अघि केटा र केटीको जन्मनक्षत्रको नामका आधारमा गुणमिलान गर्ने परिपाटी छ। गुण मिलान नमिल्दा सर्वगुण सम्पन्न वर वा कन्या भए पनि असल जीवनसाथी हुन सक्दैनन्। गुणमिलान गर्दा अष्टकूटको मिलान गरिन्छ। अष्टकुट भित्र वर्ण, वश्य, तारा, योनी, ग्रहमैत्री, गण, राशि र नाडी पर्दछन्। ज्योतिषशास्त्रअनुसार कुनै जातकको प्रकृति, अभिरुचि, व्यक्तित्व र व्यवहार उसको जन्मनक्षत्र र राशीका आधारमा निर्धारित हुने गर्दछ। यस आधारमा पतिपत्नीको जन्म नक्षत्र र जन्म राशीको मिलान गर्नुलाई गुणमिलान भनिन्छ। गुणमिलानका आधारमा दुई दम्पतिको दाम्पत्य सम्बन्ध एक आपसमा कस्तो हुन्छ भन्ने जानकारी प्राप्त हुन्छ।

गुणमिलानको जम्मा अङ्क ३६ हुन्छ र दुबै वरवधुको सम्बन्धबाट आउने गुण ५० प्रतिशत (१८ गुण) भन्दा धेरै भएमा तिनीहरूको दाम्पत्य जीवन सुखमय हुन्छ। यौवन अवस्थामा कसै प्रति आकर्षण बढ्नु स्वाभाविक हो, तर दीर्घकालसम्म त्यो आकर्षण भावना कायम हुन्छ हुँदैन तत्कालको आकर्षणलाई मात्र हेरेर टुङ्गो लगाउने विषय पनि होइन। सामन्यतया ज्योतिषशास्त्रीय दृष्टिकोणबाट केटा र केटी दुबैको कुण्डलीमा शुभ ग्रहको समयमा गुणमेलापक चक्रमा थोरै अङ्क हुँदा पनि एक अर्कामा आकर्षण र भवनात्मक निकटता हुनसक्छ, तर भविष्यमा जब तिनको जीवनमा अशुभ ग्रहको समयचक्र प्रारम्भ हुन्छ ती दुईमा अचानक वैचारिक मतभेद हुनथाल्छ, जसबाट वादविवाद बढ्दछ, अनि सम्बन्धविच्छेद हुने अवस्था समेत सिर्जना हुन्छ। ज्योतिषशास्त्रमा गुणमिलान गर्दा अष्ट कूटको बेग्लाबेग्लै गणना गरिन्छ। यी आठवटा कूटहरूको भिन्नभिन्न ढङ्गले एक आपसमा मेलमिलाप स्थापना गर्न महत्त्वपूर्ण भूमिका हुन्छ।

मुख्यतया विवाह जुराउँदा
अष्टकूट मिल्दा-मिल्दै पनि विशेष ध्यान दिने कुराहरू जस्तैः माङ्गलिक, दुई-विवाह दोष, सप्तम भाव, सप्तमेश, सन्तान पक्ष, आयु, चतुर्दशी, औँसी, अश्लेषा र जेष्ठाले गर्दा पनि वैवाहिक जीवनमा समस्या उत्पन्न गराउँछ।

अष्टकूटका बारेमा जानकारी
वर्ण
अष्टकूटहरूमध्ये पहिलो कूट ‘वर्ण’लाई मानिन्छ। वर्णका आधारमा व्यक्तिको कार्यक्षमताको मूल्याङ्कन हुने गर्दछ। ज्योतिषशास्त्र र आर्य संस्कृतिमा वर्णलाई चार किसिमले विभाजन गरिएको छ; ब्राह्मण, क्षत्रीय, वैश्य र शुद्र। यी वर्णहरूलाई क्रमशः उत्तम, मध्यम, सामान्य र अधम श्रेणीमा राखिएको हुन्छ। केटा र केटीको गुणमिलान गर्दा केटीका तुलनामा केटाको वर्ण उच्च श्रेणीको हुँदा गुणमिलान अन्तर्गत १ अङ्क प्राप्त हुन्छ। यस मिलानमा उत्तीर्ण हुँदा दुबै वरवधुको एक आपसमा समान कार्य क्षमता हुन्छ।

वश्य
अष्टकूटहरूमध्ये दोस्रो कूट ‘वश्य’ लाई मानिन्छ। वश्य पाँच प्रकारका हुन्छन्; चतुष्पद, द्विपद, जलचर, वनचर र कीट। मेष र वृष राशीको पूर्ण भाग र धनु राशीको उत्तरार्ध एवं मकर राशीको पूर्वार्ध हुने जातकको चतुष्पद वश्य हुन्छ। सिंह राशीको वनचर वश्य हो। मिथुन, कन्या, तुला र कुम्भ राशीको समस्त भाग र धनु राशीको पूर्वार्ध हुने जातकको द्विपद वश्य हुन्छ। मकर राशीको उत्तरार्ध खण्डको जलचर वश्य हुन्छ र कर्कट राशीको कीट वश्य मानिन्छ। वश्यको मिलानबाट स्वभाव र पारस्परिक सम्बन्ध कस्तो हुन्छ भनेर हेरिन्छ, एकै किसिमको वश्य हुँदा वा परस्पर मित्र वश्य हुँदा दुबै दम्पत्तिको सम्बन्ध राम्रो हुन्छ तर वश्य एक आपसमा शत्रु हुँदा दुबैमा शत्रुताको भावना प्रवल हुन्छ, सामान्य कुरामा पनि दुबै झगडा गर्न थाल्छन्। दुबै वश्य एक आपसमा भक्ष्य छन् भने जीवनसाथीले आफु दबिएको भावनाबाट ग्रसित हुनुपर्छ। वश्यका आधारमा गुणमिलान तालिकामा २ अङ्क प्राप्त हुन्छ।

तारा
अष्टकूटहरूमध्ये तेस्रो कूट ‘तारा’लाई मानिन्छ। जन्म नक्षत्रका आधारमा ताराको गणना हुन्छ। तारा नौ किसिमका हुन्छन्; जन्म, सम्पत्, विपत्, क्षेम, प्रत्यरि, साधक, वध, मित्र र अतिमित्र। ताराको सम्बन्ध शुभ हुँदा दुबै दम्पतीमा परस्परमा एक अर्काका भावनालाई बुझ्ने क्षमता प्राप्त हुन्छ। तारा गणना गर्दा केटाको जन्मनक्षत्रदेखि केटीको जन्मनक्षत्रसम्म गनेर आउने सङ्ख्यालाई ९ ले भाग गर्दा जति शेष हुन्छ, त्यस बमोजिम क्रमशः जन्म, सम्पत्,विपत्, क्षेम, प्रत्यरि, साधक, वध, मित्र र अतिमित्र नामका तारा हुन्छन्। यीमध्ये विपत्, प्रत्यरि र वध नाम गरेको तारा प्राप्त हुँदा अशुभ हुन्छ, अन्य तारा शुभ नै हुन्छ। ताराको मिलान अनुकूल भएमा गुणमेलापक चक्रमा तीन अङ्क प्राप्त हुन्छ।

योनी
अष्टकूटहरूमध्ये चौथो कूट ‘योनी’ हो। योनी चौधवटा छन्, ती हुन्; अश्व(घोडा), गज (हात्ती), मेष (भेडो), सर्प, मार्जार (बिरालो), मूषक (मुसो), गौ (गाई), महिष (भैंसी), व्याघ्र (बाघ), मृग, वानर (बाँदर), नकुल (न्याउरीमुसो) र सिंह। जस्तैः घोडा योनीको भेडा, बिरालो, मुसो, गाई र मृग मित्र, सर्प, कुकुर, बाँदर र न्याउरीमुसो सम र भैंसी शत्रु योनी हुन्। योनीचक्रको मिलानबाट दुबै दम्पत्तिमाझ निर्णय लिने क्षमता, एक आपसमा सन्तुलन र विवेक पक्षको विचार गर्ने गरिन्छ। दाम्पत्य जीवनको लामो जीवनकालमा श्रीमान् र श्रीमतीमा वैचारिक तालमेल हुनु अति आवश्यक हुन्छ, तर वैचारिक तालमेल नमिल्दा जीवनमा उतारचढाव ब्यहोर्नु पर्छ। योनीको मिलानबाट गुण मेलापक चक्रमा चार अङ्क प्राप्त हुन्छ, वर र वधुको समान योनी हुँदा चार गुण, मित्र योनी हुँदा तीन गुण, सम योनी हुँदा दुई गुण र शत्रु योनी हुँदा शून्य गुण हुन्छ।

ग्रहमैत्री
ग्रहहरूको एक आपसमा हुने मैत्रीसम्बन्धबाट वर र वधुको आपसी सम्बन्ध, पारस्परिक स्वभाव र तिनको प्रकृतिका बारेमा थाहा पाउन सकिन्छ। ग्रहहरूका माझमा एक आपसमा तीन किसिमका नैसर्गिक सम्बन्ध रहने कुरा ज्योतिषशास्त्रमा उल्लेख गरिएको पाइन्छ। यदि केटा र केटी दुबै जनाको राशीको स्वामी ग्रह परस्परमा मित्र छन् वा एउटै हुन्छ भने दुबै दम्पतीमा पनि परस्परमा प्रेमसम्बन्ध कायम हुन्छ तर ती राशीस्वामी परस्पर शत्रुतापूर्ण सम्बन्ध राख्दछन् भने ती दुईका वीचमा पनि शत्रुत्व कायम हुन्छ। दुईजनाकै राशीस्वामीको सम भाव छ भने ती जोईपोइ कहिले प्रसन्न पनि हुन्छन् भने कहिले मनमुटाव पनि देखिन्छ। गुणमेलापक चक्रमा यसरी ग्रह मैत्रीका आधारमा अधिकतम पाँच अङ्क प्राप्त हुन्छ।

गण
गण तीन वटा हुन्छन्। देव गण, मनुष्य गण र राक्षस गण। गण द्वारा शालीनता, उदारता, सहृदयता र सुशीलताको विचार गरिन्छ। देव गणमा जन्मिएका जातकमा नैसर्गिक रूपमा उदार, दयालु, दानी र आत्मविश्वासी चरित्र पाइन्छ, त्यस्तै मनुष्य गणमा जन्म लिनेहरू चलाख, स्वार्थी र स्वाभिमानी हुन्छन् अनि राक्षस गणमा समुत्पन्न भएका व्यक्तिहरू क्रोधी, जिद्दी, गैरजिम्मेवार र निर्दयी हुन्छन्। सामान्यतया एउटै खालको गणलाई सर्वोत्कृष्ट मानिन्छ भने देव गण र मनुष्य गणको एक आपसमा असल सामञ्जस्य हुन्छ, देवगण र राक्षस गणको धेरै जसो झगडा परिरहने गर्दछ अनि मनुष्य र राक्षस गणका जोडीको दाम्पत्य सम्बन्ध भएमा मनुष्य गण हुने केटा वा केटीको आयुमा सङ्कट आउने वा मृत्यु हुने भन्ने चलन छ। एक आपसमा गण मिलान हुँदा अधिकतम छ अङ्क प्राप्त हुन्छ।

भकूट
भकूट छ किसिमका हुन्छन्। वरको राशीबाट कन्याको राशीसम्म र कन्याको राशीबाट वरको राशीसम्म गन्ती गर्दा कुन भकूट परेछ भन्ने पत्तो लाग्छ। यसरी गन्दा एक अर्काको राशीबाट गन्दै जाँदा ६/८, २/१२ र ९/५ पर्नु हुँदैन। तर राशी स्वामी एउटै परेको खण्डमा यो सम्बन्धलाई पनि ग्राह्य मानिन्छ। भुकूट ग्राह्य भएमा गुणमेलापक चक्रमा अधिकतम ७ गुण प्राप्त भएको मानिन्छ।

नाडी
विवाहका निम्ति भावी वरवधूको जन्मकुण्डली मेल गराउँदा गुणको गणना गर्ने क्रममा नाडीको सबै भन्दा महत्त्वपूर्ण स्थान हुन्छ। नाडी व्यक्तिको मन र मानसिक ऊर्जाको सूचक हो। व्यक्तिको निजी सम्बन्ध उसको मन र भावनाद्वारा नियन्त्रित हुन्छ। भावी दम्पतिका रूपमा एउटा लामो कालखण्ड साथसाथै रहने दुईजनामा भावनात्मक समानता हुनु अत्याश्यक छ, तर ती दुईजनामा प्रतिद्वन्द भयो भने तिनले एकसाथमा जीवन गुजार्न असहज हुन्छ, विवाह धेरैपटक जोडिने सम्बन्ध पनि होइन। दुईजना अपरिचित नारी र पुरुषको भावनात्मक सम्बन्धको जानकारी आदि, मध्य र अन्त्य नामका तीन किसिमका नाडीका माध्यमबाट प्राप्त हुन्छ। वैदिक ज्योतिषका अनुसार आदि, मध्य र अन्त्य यी तीनवटा नाडीले क्रमशः आवेग, उद्वेग र संवेग द्योतन गर्दछन्, जसबाट सङ्कल्प, विकल्प र प्रतिक्रियाको जन्म हुन्छ। यस प्रकार मेलापक चक्रमा नाडीगणनाका माध्यमबाट भावी दम्पतिको मानसिकता र मनोदशाको मूल्याङ्कन गर्न सकिन्छ। दुबै वर र वधुको एउटै नाडी हुनुहुन्न। यस्तो भएमा दाम्पत्य सम्बन्ध वा विवाह अशुभ मानिन्छ। गुणमिलान चक्रमा यसको सर्वाधिक अङ्क छ। नाडीको मिलान हुँदा एकमुष्ट आठ गुण प्राप्त हुन्छ। 

नाडी एकै किसिमको हुँदा…
आद्य नाडी वरं हन्ति, मध्यनाडी तु कन्यकाम्। अन्त्य नाड्यां द्वयोर्मृत्युः नाडी दोषं त्यजेद् बुधैः॥
आद्यैकनाडी कुरुते वियोगं मध्याख्यनाड्यामुभयोर्विनाशः। अन्त्या च वैधव्यमतीव दुःखं तस्माच्च तिस्रः परिवर्जनीयम्॥

  1. वर र कन्या दुवैको आद्य नाडी भएमा विवाह गर्ने केटाको प्रगतिमा रुकावट, सन्तानमा समस्या वा सन्तानको प्रगतिमा रुकावट, सम्बन्ध विच्छेद (Divorce), रोगी गराउने, आपसमा सानसानो कुरामा झै-झगडा अथवा अल्पायु हुन्छ।
  2. वर र कन्या दुवैको मध्य नाडी भएमा विवाह गर्ने केटीको प्रगतिमा रुकावट, सन्तानमा समस्या वा सन्तानको प्रगतिमा रुकावट, सम्बन्ध विच्छेद (Divorce), रोगी गराउने, आपसमा सानसानो कुरामा झै-झगडा अथवा अल्पायु हुन्छ।
  3. वर र कन्या दुवैको अन्त्य नाडी भएमा दुवै जनाको प्रगतिमा रुकावट, सन्तानमा समस्या वा सन्तानको प्रगतिमा रुकावट, सम्बन्ध विच्छेद (Divorce), रोगी गराउने, आपसमा सानसानो कुरामा झै-झगडा अथवा अल्पायु हुन्छ।

नाडीदोषस्तु विप्राणां वर्णदोषस्तु क्षेत्रिये। गणदोषश्च वैश्येषु योनिदोषस्तु पादजान्॥
ब्राह्मणले नाडी, क्षेत्रीले वर्ण, वैश्यले गण र शुद्रले योनिलाई विशेष ख्याल गर्ने।

राश्यैके चेद्भिन्नमृक्षं द्वयोः स्यान्नक्षत्रैक्ये राशियुग्मं तथैव॥
वर र वधु दुवैको राशि एउटै छ र नक्षत्र भिन्न-भिन्न छ भने अथवा दुबैको नक्षत्र एउटै छ र राशि अलग-अलग छ भने नाडीदोष लाग्दैन।

रोहिण्याद्र्रामघेन्द्राग्नी पुष्यश्रवणपौष्णभम्। उत्तरा प्रोष्ठपाच्चैव नक्षत्रैक्येऽपि शोभनाः॥
कृतिका, रोहिणी, मृगसिरा, आर्द्रा, तृष्या, जेष्ठा, श्रवण, उत्तरभाद्रपदा र रेवती नक्षत्र एउटै छ भने नाडी एउटै भएपनि विवाह गर्न मिल्छ।

नाडी दोषका उपाय वा परिहार
दोषलाई नै निर्मूल पार्नु होइन। शान्ति गर्नु नै पर्ने अवस्था भएको खण्डमा मात्र यस्ता शान्तिका उपाय बताएका हुन्। नाडी दोष निवारणर्थ महामृत्युञ्जयको जप गर्नुपर्दछ। वर्णादि कूटको दोष भए सुनको दक्षिणा दिनुपर्छ। गाई दान, अन्न दान, सुन दान, वस्त्र दान गर्नाले नाडी लगायतका दोष निवारण हुन्छन् भनी पीयूषधारामा बृहस्पतिको मत यसरी बताइएको छः
दोषानुपत्तये नाड्या मृत्युञ्जयजपादिकम्। विधाय ब्राहृमणाश्चैव तर्पयेत्काञ्चनादिना॥
हिरण्मयीं दक्षिणां च दद्याद्वर्णादिकूटके। गावोऽन्नं वसनं हेमं सर्वदोषापहारकम्॥

दोष दोष नै हो। यसैले सर्वप्रथम दोष हुन नै नदिनु उचित रहन्छ। जानीजनी शान्तिका उपाय अवलम्बन फल प्राप्ति हुँदैन। विशेष परिस्थितिवश यस्तो दोष देखिएको खण्डमा भने शान्तिका उपाय हितकारी हुने गर्दछन्।

जन्मकुण्डली मिलान किन गर्ने?

  1. दाम्पत्य जीवनको सफलता सुनिश्चित गर्नः जन्मकुण्डली मिलानले भावी जोडीको व्यक्तित्व, स्वभाव, स्वास्थ्य, आर्थिक स्थिति, सन्तान योग र मानसिक अनुकूलता जाँच्छ। यसले वैवाहिक जीवनमा आउन सक्ने समस्या वा सुखको पूर्वानुमान गर्छ। उदाहरणका लागि, यदि दुवैको कुण्डलीमा समान गुणहरू मिल्छन् भने, उनीहरूबीच समझदारी र प्रेम बढ्छ।
  2. ग्रहहरूको प्रभाव जाँच्नः वैदिक ज्योतिष अनुसार, जन्म समयमा ग्रहहरू (जस्तै सूर्य, चन्द्र, मंगल आदि) को स्थिति जीवनलाई प्रभाव पार्छ। मिलानले मंगल दोष, निसन्तान योग, काकबन्द्या योग, वैधव्य योग, सम्बन्ध विच्छेद योग, धन हानि योग, सासु-ससुरा, साला-जेठान/देवर-जेठाजु, पिर्ने-नपिर्ने योग वा अन्य दोषहरूको प्रभाव हेर्छ, जसले वैवाहिक जीवनमा बाधा पुर्याउन सक्छ।
  3. सप्तम भाव र सप्तमेशः विवाहको घर (सप्तम भाव) र यसको स्वामी ग्रहको स्थिति हेर्नु, जसले दाम्पत्य सुख बताउँछ।
  4. अन्य पक्षहरूः आयु, स्वास्थ्य, आर्थिक स्थिति, सन्तान योग, वैदेशिक यात्रा र मानसिक सामन्जस्यता। गोत्र, जाति र राशी स्वामी पनि विचार गर्नु।
  5. लग्न कुण्डली र नवांशः मुख्य कुण्डलीसँगै नवांश कुण्डली विश्लेषण गर्नु, जसले गहन जानकारी दिन्छ।

गुणैः षोडशभिर्निन्द्या मध्यमा विंशतिस्तथा।
श्रेष्ठं त्रिंशद्गुणं यावत् परतस्तूत्तमोत्तमम्॥

  1. १६ गुण मात्र मिलेमा विवाह निन्दनीय (खराब) मानिन्छ।
  2. २० गुण मिलेमा मध्यम (साधारण) मानिन्छ।
  3. ३० गुण सम्म मिलेमा श्रेष्ठ (राम्रो) मानिन्छ।
  4. ३० देखि ३६ गुण (अधिकतम) मिलेमा उत्तमोत्तम (सबैभन्दा उत्तम) मानिन्छ।

मांगलिक दोष
लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे। कन्या भर्तुर्विनाशाय भर्ता पत्नीविनाशकृत्॥
यस श्लोकबाट यो प्रष्ट हुन्छ कि यदि मंगल लग्न, चतुर्थ, सप्तम, अष्टम वा द्वादश भावमा भएमा मांगलिक दोष हुने गर्दछ। मांगलिकले विशेष गरेर मांगलिकसँग नै विवाह गर्नुपर्दछ नत्र दाम्पत्य जीवनमा खराब असर, कलह, झै-झगडा, सँगै यात्रा गर्दा दुर्घटना, घरमा धनहानी, सन्तानमा समस्या पार्दछ। श्रीमानको मांगलिकले श्रीमतीलाई र श्रीमतीको मांगलिकले श्रीमानलाई हानि, नोक्सानी वा मृत्युतुल्य कष्ट पनि दिनसक्छ साथै वैवाहिक जीवनलाई नै नकारात्मक बनाउन सक्छ। अरुभन्दा पनि सातौ र आठौ मांगलिक विशेष घातक हुन्छन।

कन्याको जन्मलग्नदेखि प्रथम, चतुर्थ, सप्तम, अष्टम वा द्वादश (१, ४, ७, ८ वा १२) स्थानमध्ये कुनै एक स्थानमा मंगल छ भने त्यो कन्याले स्वामीको नाश गर्ने हुन्छ। त्यस्तै पुरुषको जन्मलग्नदेखि प्रथम, चतुर्थ, सप्तम, अष्टम वा द्वादश (१, ४, ७, ८ वा १२) स्थान मध्येमा कुनै एक स्थानमा मंगल छ भने त्यो पुरुषले स्त्रीको नाश गर्ने हुन्छ।

मांगलिक दोषका प्रकारहरू

  1. एकबल मांगलिक जन्म पत्रिकाः जन्मकुण्डलीको १, ४, ७, ८ र १२ भावमा मंगल भएमा एक बल मांगलिक दोष भएको मांगलिक कुण्डली भनिन्छ।
  2. त्रिबल मांगलिक जन्म कुण्डलीः जन्म कुण्डलीमा निच्चको मंगल वा कर्कट राशिको भई १, ४, ७, ८ र १२ भावमा अन्य पापग्रह सूर्य, शनि, राहु र केतु सँग योग भएमा त्यो जन्मकुण्डलीमा त्रिबल मांगलिक दोष भएको हुन्छ।

मंगलिक दोषभंग योग

  1. लग्न कुण्डलीको केन्द्र (१, ४, ७, १०) मा चन्द्रमा भएमा मांगलिक दोष लाग्दैन।
  2. सप्तम भावको मंगललाई गुरुको दृष्टी भएमा मांगलिक दोष लाग्दैन।
  3. वर-वधु दुबैको चिनामा मांगलिक दोष भएमा विवाह गर्न हुन्छ।
  4. मंगल स्वराशि (१, ८), मूल त्रिकोण (१), उच्च राशिमा (१०) भएपनि मांगलिक दोष लाग्दैन।
  5. जन्मकुण्डलीमा चन्द्रमा र बृहस्पति अथवा मंगल र बृहस्पति एकै ठाउँमा बसेको भए मंगलीदोष लाग्दैन।

मांगलिक दोष निवारणका उपायहरू

  1. वर-वधु दुबैको चिनामा मांगलिक योग मिलाएर विवाह गर्ने
  2. कन्याले वटसावित्री वा गौरीको व्रत गर्ने
  3. पार्वती मंगल स्तोत्रको दैनिक पाठ गर्ने
  4. मंगल ग्रहको दश हजार जप एवं मंगलको शान्ति गर्ने
  5. नियमित रूपमा हनुमान चालिसा वा सुन्दरकाण्डको पाठ गर्ने
  6. २८ वर्षपछि विवाह गरे मांगलिक दोष लाग्दैन
  7. तुलसीसंग विवाह गरे मांगलिक दोष कट्छ
  8. कन्याले बिष्णु प्रतिमा विवाह गर्ने

लग्नमा मंगलको प्रभाव
लग्नमा मंगल हुँदा हुने मांगलिक दोषका कारण उसको स्वास्थ्य तथा मान-प्रतिष्ठामा हानी, क्रोधी, झगडालु र जिद्धि स्वभावको हुन्छ। जातकको चरित्रमा समेत नकारात्मक प्रभाव पार्दछ अर्थात् वेश्यागामी वा वेश्यावृत्तिमा लगाउँछ। अझ लग्न स्थान शुक्रको राशि (वृष र तुला) भएमा अझ बढी प्रभाव पार्दछ।

चतुर्थ भावमा मंगलको प्रभाव
चतुर्थ भावमा मंगल भई मांगलिक भएमा जातकलाई माता-पिताको कष्ट, विभिन्न प्रकारका सुखबाट वञ्चित, सवारी-साधन तथा मेसिनरी चिजबाट सधै हानि, पशु चौपायाबाट हानि हुन्छ। शत्रुको घर वा निच्च राशि (मिथुन, कर्कट, कन्या, मकर र कुम्भ) भएमा निकै अनिष्टकारी हुने गर्दछ।

सप्तम भावमा मंगलको प्रभाव
जन्म कुण्डलीमा सप्तम भावमा मंगल भई मांगलिक दोष भएमा उसले जीवनमा अनेक प्रकारको शारीरिक कष्ट, दुःख, पिर, चिन्ता परिरहने, जातकलाई पति/पत्नीको सुख हुँदैन। स्वास्थ्य पनि सधैँ खराब नै रहन्छ। स्वगृह तथा उच्चको मंगल सप्तम भावमा भएमा व्यापार व्यवसाय, विवाह आदिमा राम्रो गर्ने गर्दछ। तर शत्रुगृही भई बसेमा जातकलाई हिंस्रक, दुराचारी तथा पागल वा मानसिक रोगी बनाउने गर्दछ।

अष्टम भावमा मंगलको प्रभाव
अष्टम भावमा मंगल बसि मांगलिक परिहार नभएमा मांगलिक दोष हुने गर्दछ। यस्तो दोषका कारण जातकलाई मानसिक तनाव, अल्पायु, स्वास्थ्यमा खराबी, स्त्री-पुरुषमा विभिन्न प्रकारका दुःख, कष्ट, व्यापार वा धनमा हानी हुने गर्दछ। यदि मंगल, मकर, मेष र वृश्चिकको भएमा दीर्घायु तथा शत्रु गृही वा निच्चको भएमा अल्पायु र विभिन्न प्रकारका कष्ट दिने गर्दछ।

द्वादश भावमा मंगलको प्रभाव
द्वादश स्थानमा मंगल भई मांगलिक दोष भएमा उसलाई जेल तथा कारावासको यात्रा, अनावश्यक चिन्ता, अपमान, आँखा, खुट्टाको नासमा समस्या र विभिन्न प्रकारको दुःख, कष्ट, दुराचारी, बेइमानी, धन र विद्यामा कमी, अहंकारी बनाउँछ। अझ यो स्थानमा निच्चको तथा शत्रुगृही भएमा अझ दोष दोब्वर हुने गर्दछ।

जन्म महिनामा विवाह गर्न हुने कि नहुने
आद्यगर्भसुतकन्ययोर्द्वयोर्जन्ममासभतिथौ करग्रहः। नोचितोऽथ विबुधैः प्रशस्यते चेद् द्वितीयजनुषो सुतप्रदः॥

  1. जन्म महिना, जन्म नक्षत्र र जन्म तिथिमा पहिलो सन्तान (जेठो छोरा वा छोरी) को विवाह गर्नु शुभ मानिँदैन।
  2. विद्वानहरूको मत अनुसार दोस्रो गर्भबाट जन्मिएको सन्तानका लागि भने असल सन्तति दिने (वंश वृद्धिका लागि शुभ) हुन्छन्।

मूलादि नक्षत्रमा उत्पन्न वर-कन्याको फल
श्वश्रूविनाशमहिजौ सुतरां विधत्तः, कन्यासुतौ निर्ऋतिजौ श्वशुरं हतश्च। ज्येष्ठाभजाततनया स्वधवाग्रजञ्च, शक्राग्निजा भवति देवरनाशकर्त्री॥

  1. आश्लेषा नक्षत्रमा जन्मिएको बालक वा बालिकाले सासूको हानी गर्दछ।
  2. मूल नक्षत्रमा जन्मिएको बालक वा बालिकाले ससुराको निश्चित रूपमा नाश (अशुभ) गर्दछन्।
  3. ज्येष्ठा नक्षत्रमा जन्मिएकी कन्याले आफ्नो पतिको जेठो दाजु (जेठाजु) हानी गर्दछ।
  4. विशाखा नक्षत्रमा जन्मिएकी कन्याले देवरको नाश (अनिष्ट) गर्दछिन्।

मूलादि जन्य दोष परिहार
द्वीशाद्यपादत्रयजा कन्या देवरसौख्यदा। मूलान्त्यपादसार्पाद्यपादजाते तयोः शुभे॥

  1. विशाखा नक्षत्रको पहिलो देखि तेस्रो चरणसम्म जन्मिएकी कन्या (केटी) देवरलाई सुख दिने खालकी हुन्छिन्।
  2. मूल नक्षत्रको चौथो चरणमा जन्मिएकी कन्याले ससुरालाई सुख दिन्छिन्।
  3. अश्लेषा नक्षत्रको पहिलो चरणमा जन्मिएकी कन्याले सासूलाई सुख दिन्छिन्।

विवाह के प्रथम वर्ष की विशेषता
ज्येष्ठे पतिज्येष्ठमथाधिके पतिं, हन्त्यादिमे भर्तृगृहे वधूः शुचौ। श्वश्रूं सहस्ये श्वसुरं क्षये तनुं, तातं मधौ तातगृहे विवाहतः॥

  1. विवाहपछिको पहिलो जेठ महिनामा यदि दुलही श्रीमानको घरमा बसी भने जेठाजुलाई पिर्दछिन्।
  2. पहिलो मलमास (अधिमास) मा बसे भने श्रीमतीले श्रीमानलाई पिर्दछिन्।
  3. पहिलो असारमा बुहारीले सासूलाई पिर्दछिन्।
  4. पहिलो पुसमा बुहारीले ससुरालाई पिर्दछिन्।
  5. पहिलो क्षयमासमा बसे भने स्वयं आफ्नै विनाश (अशुभ) गर्दछिन्।
  6. विवाहपछिको पहिलो चैत महिनामा यदि दुलही माइतीमा बसी भने उनले आफ्ना बुबाको विनाश (नोक्सान) गर्दछिन्।

-----------------------

विवाहमा गणविचार
स्वगणे परमा प्रीतिर्मध्यमा देवमर्त्ययोः। मर्त्यराक्षसयोर्मृत्युः कलहो देव रक्षसोः॥

  1. स्त्री पुरुष एउटै गणको भए अधिक प्रीति हुन्छ
  2. मनुष्य राक्षस गणको मृत्यु हुन्छ
  3. देव तथा राक्षसगणमा कलह हुन्छ

विवाह मास
माघे धनवती कन्या फाल्गुने सुभगा भवेत्। वैशाखे च तथा ज्येष्ठे पत्युरत्यंत बल्लभा॥
आषाढे कुलवृद्धिस्यादन्ये मासाश्च वर्जिताः। मार्गशीर्षमपीच्छन्ति विवाहे केऽपि कोबिदाः॥

  1. माघमा विवाह भएमा कन्या धनवती हुन्छिन्।
  2. फागुनमा विवाह भएमा कन्या सौभाग्यवती हुन्छिन्।
  3. वैशाख र जेठमा विवाह भएमा कन्या श्रीमानकी प्रिय हुन्छिन्।
  4. असारमा विवाह भएमा कन्याले कुलको वृद्धि गर्ने, मङ्सिरलाई शुभ मानिन्छ।
  5. Note: यी बाहेक अन्य महिना विवाहको लागि वर्जित छन्।

योनिवैर
गोव्याघ्र गजसिंहमश्वमहिषं श्वैणं च बभ्रुरयं। वैरं वानर मेषकं च सुमहत्तत्वद्विडालोर्दुरो॥
लोकानां व्यवहारतो निगदितं ज्ञात्वा प्रयत्नादिदं। दंपत्योर्नृपभृत्ययोरपिसदा वर्ज्य शुभस्यार्थिभिः॥

  1. गाईको शत्रु बाघ हुन्छ।
  2. हात्तिको शत्रु सिंह हुन्छ।
  3. घोडाको शत्रु भैंसी हुन्छ।
  4. न्याउरीको शत्रु सर्प हुन्छ।
  5. वानरको शत्रु भेडा हुन्छ।
  6. बिरालोको शत्रु मुसा हुन्छ।
  7. स्त्री-पुरुषले सुख चाहना गर्ने व्यक्तिले सदैव योनिको विचार यत्नपूर्वक गर्नुपर्छ।

षडष्टकादि विचार
मरणं पितृभात्रोश्च सग्राह्यं नवपंचकम्। वरस्य पंचमे कन्या कन्याया नवमे वरः॥
एतत्त्रिकोणकं ग्राह्यं पुत्रपौत्रसुखावहम्। षडष्टके भवेन्मृत्युर्यत्नात्तस्माद्विचारयेत्॥

  1. पुरुषको राशिदेखि कन्याको राशि ९ पिताको मृत्यु हुन्छ
  2. यदि वरको राशिदेखि कन्याको राशि ५ भए, कन्याको राशि देखि वरको राशि ९ भए यो त्रिकोण शुभ भई पुत्र पौत्र र सुखको दाता हुन्छ
  3. छैटौँ वा आठौँ भए मृत्यु हुन्छ यस कारणले यत्नपूर्वक विचार गर्नुपर्दछ।

राशिकूट विचार
षष्ठे स्त्रीपुंसयोर्वैरं मृत्यः स्यादष्टमेध्रुवम्। द्विर्द्वादशे च दारिद्र्यं नवमे पंचमे कलिः॥

  1. स्त्रीका राशि देखि पुरुषको राशि ६ भए शत्रुता हुन्छ
  2. ८ भए निश्चय मृत्यु हुन्छ
  3. २ वा ११ भए दरिद्रता हुन्छ
  4. ९ वा ५ भए कलहकारक हुन्छ

वर्ण विचार
मीनालिकर्कटा विप्राः क्षत्री मेषो हरिर्धनुः। शूद्रा यग्मतुलाकुंभौ वैश्यः कन्या वृषोमृगः॥

  1. मीन, वृश्चिक, कर्कट राशि ब्राह्मण
  2. मेष, सिंह, धनु राशि क्षत्रिय
  3. मिथुन, तुला, कुम्भ, राशि शूद्र
  4. कन्या, वृष, कर, वैश्य वर्ण हुन्छ।

वर्णको फल
नोत्तमामुद्वहेत्कन्यां ब्राह्मणो च विशेषतः। म्रियते हीनवर्णाश्च ब्रह्मणारक्षितो यदि॥
विप्रवर्णे च या नारी शूद्रवर्णे च यः पतिः। ध्रुवं भवति वैधव्यं शुक्रस्य दुहिता यदि॥

आफ्नो वर्णभन्दा उत्तम वर्णकी कन्या विशेष गरी ब्राह्मणीसित विवाह नगर्नु किन भने नीच वर्ण हुनाले पुरुषको रक्षा गरे पनि मृत्यु हुन्छ यदि स्त्री ब्राह्मण वर्णकी भई पति शूद्रवर्णको भए त्यो इन्द्रकी कन्या भए पनि अवश्य नै विधवा हुन्छे।

वर्ग ज्ञान
अवर्गो गरुड़ो ज्ञेयो विडालः स्यात्कवर्गकः। चवर्गः सिंहनामास्यात् टवर्गः कुक्कुरः स्मृतः॥
सर्पाख्यः स्यात्तवर्गोऽपि पवर्गो मूषकः स्मृतः। यवर्गों मृगनामा स्यात्तथा मेष शवर्गकः॥

  1. आ, ई, उ, ए यी अवर्ग हुनाले गरुड वर्ग हुन्छ।
  2. क, घ, ग, घ, ङ, यी कवर्ग हुनाले बिरालो वर्ग हुन्छ।
  3. च, छ, ज, झ, ञ, यी पवर्ग हुनाले सिंह वर्ग हुन्छ।
  4. ट, ठ, ड, ढ, ण, यी टवर्ग हुनाले श्वान वर्ग हुन्छ।
  5. त, थ, द, ध, न, यी तवर्ग हुनाले सर्प वर्ग हुन्छ।
  6. प, फ, ब, भ, म, यी पवर्ग हुनाले मूषक वर्ग हुन्छ।
  7. य, र, ल, व, यी यवर्ग हुनाले मृग वर्ग हुन्छ।
  8. श, ष, ह यी शवर्ग हुनाले भेडो वर्ग हुन्छ।

वर्ग शत्रु मित्रता
स्ववर्गात्पंचमः शत्रुश्चतुर्थो मित्रसंज्ञकः। सीनस्तृतीयश्च तथा वर्गभेदस्त्रिधोच्यते॥
स्ववर्गे परमाप्रीतिमित्रे प्रीतिश्च कथ्यते। उदासीने प्रीतिरल्पा शत्रुवर्गे मृतिर्भवेत्॥

आफ्ना वर्गदेखि पाँचौं वर्गको वैरी, चौथोको मित्र र तेश्राको उदासीन जान्नु, दुवैको एक वर्ग भए अत्यन्त प्रीति हुन्छ। मित्रवर्गमा साधारण उदासीनमा थोरै प्रीति रहन्छ, शत्रुवर्ग भए मृत्यु हुन्छ।

+977-9844768353 +977-9823646855